४ बैशाख २०८१, मंगलबार

सुनकोशी गाउँपालिकाले नियम विपरित स्यानेटरी प्याड खरिद गरेकाे खुलासा

प्रकाशित मिति :  3 September, 2021 6:59 pm


सिन्धुली । सुनकोशी गाउँपालिकाले सिलबन्दी दरभाउपत्रबाट नभई सोझै स्यानेटरी प्याड खरिद गरेको खुलासा भएकाे छ ।

छात्राहरुको स्वास्थ्य तथा सरसफाईसँग जोडिएको प्याडको खरिद कार्य आर्थिक वर्षको सुरुमा खरिद प्रक्रिया सुरु गरी समयमै वितरण गर्नुपर्ने भए पनि आर्थिक वर्षको अन्त्यमा बिना टेन्डर खरिद गरी वितरण समेत नगरेकाे महालेखा परिक्षकको प्रतिवेदनमा औंल्याइएको छ ।

गाउँपालिकाले १४ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । ५ लाखदेखि २० लाखसम्म सिलबन्दी दरभाउ पत्र (टेन्डर) बाट खरिद गर्नुपर्ने कानुनी व्यवस्था छ । तर टेन्डर नै नगरी खरिद गरेकाे प्रतिवेदनमा उल्लेख छ ।

सिलबन्दी दरभाउपत्र आह्वान गरेर गर्न सकिने काम सोझै खरिद गर्नु नियम अनुसार नभएकाे जनाएकाे छ ।  प्रतिवेदनमा २५ हजार ८१२ परिमाणमा प्याड खरिद गरेकोमा १० हजार ७५६ मात्र विद्यालयलाई वितरण गरेको जनाइएकाे छ ।

कोभिड १९ का कारण विद्यालयहरु बन्द भएको अवस्थामा आर्थिक वर्षको अन्त्यमा ठुलो परिमाणमा प्याड खरिद गरी विद्यालयलाई हालसम्म पुरै वितरण नगरी मौज्दात राख्नु उचित नभएकाे महालेखाकाे ठहर छ ।

गाउँपालिकाले सफ्टी हाइजिन प्रा.लि. काठमाडौं बाट ४ लाख ९९ हजार ९९२ को ७ हजार ८१२ खरिद गरेको छ । त्यस्तै आई पि आर सिन्धुलीबाट ४ लाख ५० हजार २२ रुपैँयामा ९ हजार र जनक कस्मेटिक सिन्धुलीबाट ४ लाख ४५ हजार २२ मा ९ हजार खरिद गरेको छ ।



प्रतिक्रिया दिनुहोस !