२२ बैशाख २०८१, शनिबार

पोखरा महानगर क्षेत्रका विद्यालय असोज १ गतेदेखि खुल्ने

प्रकाशित मिति :  15 September, 2021 5:40 pm


काठमाडौं ।  असोज १ गतेदेखि पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु खुल्ने भएका छन् । बुधबार बसेको महानगरपालिका नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण लामो समयदेखि भौतिक रुपमा विद्यालयका कक्षा सञ्चालन रोकिएकोमा संक्रमण घटेसँगै यही असोज १ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिकाले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण लगायतका कक्षा सञ्चालन गर्ने पाउने निर्णय गरेको हो । समितिले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड एवम् मोडालिटी अनुरुप प्रत्येक विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन कार्य योजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य पेश गरेर मात्र विद्यालय संचालन गर्न महानगरले १० बुँदे सूचना जारी गरेको छ ।

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न भनिएको छ । विद्यार्थी धेरै भएका विद्यालयले भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । त्यस्तै विद्यालयमा मास्क, साबुन पानी, सेनिटाइजर अनिवार्य गर्न भनिएको छ ।

विद्यालयमा पठनपाठन भएपनि प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ । ‘यदि भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा नै अध्यापन गर्न’ जारी सूचनामा उल्लेख छ ।

महानगरका अनुसार विद्यालय सञ्चालन गर्दा आकस्मिक रुपमा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी त्यसको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई गराउन गराउनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !