२१ बैशाख २०८१, शुक्रबार

बेलायतमा फाइजर र मोडर्नाको कोरोना खोप लिने तीस हजार बढी महिलाको महिनाबारी अनियमित

प्रकाशित मिति :  16 September, 2021 4:06 pm


काठमाडौं । बेलायतमा कोरोना खोप लिएपछि ३० हजार भन्दा बढी महिलाको महिनाबारीमा अनियमिता भएकाे पाइएकाे छ । चिकित्सासम्बन्धी एक अगुवा पत्रिका बीएमजीमा प्रकाशित आलेखमा यस विषयमा खुलासा गरिएकाे हाे ।

प्रजनन प्रतिरोधी शास्त्रकी लेक्चरर डा. भिक्टोरिया मालेले लेखेको सो आलेखमा खोपले प्रजननशक्तिलाई असर गरेको कुनै प्रमाण नभएको तर डा. मालेले खोप कार्यक्रमको सफलता सुनिश्चित गर्न अझ बढी अनुसन्धान आवश्यक रहेको बताएकी छिन् ।

महिलाहरूले खोपसम्बन्धी गलत दाबीका कारण खोप लिन उत्सुक नहुने गरेको देखिएको उनले जनाएकी छिन् । खोपले भविष्यमा गर्भधारण गर्ने क्षमतामा हानि पुर्याउने हो की भन्ने जस्ता गलत धारणा रहेको पाइएको छ ।

खोप लिएपछि महिलाहरूको महिनाबारीमा अनियमितताबारे अनुसन्धान हुनुपर्ने आवश्यकता उनले औंल्याएकी छिन् । कोभिड –१९ खोपबाट हुने सामान्य साइडइफेक्टहरूको सूची बेलायतको स्वास्थ्य नियामक निकायले सार्वजनिक गरेको छ । यसमा बाहुला सुनिने, ज्वरो आउने, थकान हुने र मांशपेसीमा दुखाइ हुने जस्ता साइडइफेक्ट रहेका छन् ।

खोपको साइडइफेक्टको रूपमा महिनाबारीमा परिवर्तन हुने उल्लेख गरिएको छैन् । प्राथमिक उपचार क्लिनिकमा काम गर्नेहरू र प्रजनन स्वास्थ्य हेरचाह गर्नेहरूले खोप लिएकाहरूसँगको सम्पर्क गर्दा यस्तो अनुभव व्यक्त गरिएको पाइएको छ ।

महिनाबारी परिवर्तन भएको बताउने महिलाहरूले फाइजर र मोडर्नाका खोपहरू लिएको जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !