१७ बैशाख २०८१, सोमबार

ढोका छँदाछँदै सिजी झ्यालबाट पस्न खोज्यो : मन्त्री बाँस्कोटा

प्रकाशित मिति :  13 February, 2020 6:31 pm


काठमाडौं, १ फागुन । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रक्रिया पूरा नभएसम्म सिजी टेलिकमलाई लाइसेन्स नदिइने बताएका छन्।मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्री बाँस्कोटाले प्रक्रिया पूरा नभएसम्म आफूले साथ नदिने बताए।

‘उहाँहरूलाई हाम्रो एउटै आग्रह छ, प्रक्रिया पुरा गरेर आउनुस् न,’ मन्त्री बाँस्कोटाले थपे, ‘प्रक्रिया पूरा नभएसम्म हाम्रो साथ रहँदैन।’उनले युनिफाइड लाइसेन्सको शुल्कको विषयमा आफूलाई पूर्ण जानकारी नभएको भन्दै २० अर्ब रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था कानुनमा रहेको उल्लेख गरे।

‘कसैको १ लाख, कसैको २५ लाख कसैको २० अर्ब रुपैयाँ नवीकरण शुल्क छ, उहाँहरुले सबै तिर्‍यौँ भन्नुभएको छ,’ उनले भने, ‘सबै केको तिरेको? म यति मात्रै भन्न चाहन्छु, यसमा मैले थप अध्ययन गर्नेछु।’

मन्त्री बाँस्कोटाले सिजीले अहिलेसम्म ४४ करोड रुपैयाँमात्रै तिरेको भेटिएको उल्लेख गरे।

‘लिमिटेड मोबिलिटी सर्भिसका लागि यो रकम तिरेको हुनुपर्छ, त्यो खालको व्यवस्था छ,’ उनले भने, ‘उहाँहरूले ४१ जिल्लामा त्यसको काम गर्नुपर्ने थियो र फ्रिक्वेन्सी पनि लिनुभएको थियो, कहाँ काम गर्नुभयो?’

बाँस्कोटाले सिजीले गलत बाटो प्रयोग गरेको पनि दाबी गरे। ‘ढोका छँदाछँदै उहाँहरूले झ्यालको बाटो प्रयोग गर्नुभयो,’ उनले भने, ‘पूर्व सर्त बाहिर राखेर मन्त्रिपरिषदबाट नियम बदल्ने र त्यो लागू गर्न खोजियो, राजपत्रमा नियम बदलिएको सूचना आएनछ त्यो पनि छलफलको विषय होला।’

उनले आफूले कसैसँग जुहारी खेल्न नखोजेको भन्दै इमानदार लगानीकर्तालाई सबै क्षेत्रमा स्वागत गर्न सरकार तयार रहेको पनि बताए।

‘सिजी आउनुअघि उहाँहरुको माउ के हो? त्यो एसटिएम थियो, पूर्वाञ्चलमा काम गर्ने भनेर एसटिएमले लाइसेन्स लिएको थियो,’ उनले भने, ‘विश्व बैंकसँग ऋण लिएर अघि बढाएको कार्यक्रम यो पूर्वाधार विकास गर्न सरकारले अनुदान दिएको रहेछ। सिजीका सञ्चालक भाग्यमानी हुन्।’

बास्कोटाले सिजीले सरकारबाट अनुदान लिएर गर्छु भनेको काम पनि नगरेको उल्लेख गरे। ‘यो १ करोड १८ लाख ६५ हजार डलर अब के हुने हो?,’ उनले भने, ‘मैले मेरो घरमा राख्न २० अर्ब मागेको हो र? मेरो घरमा त्यती पैसा राख्न ठाउँ छैन र चाँहिदा पनि चाँहिदैन,’ उनले भने।

 



प्रतिक्रिया दिनुहोस !