१६ बैशाख २०८१, आइतबार

रोल्पामा अक्सिजन प्लान्ट शुरु, मुख्य मन्त्री केसीले गरे उद्घाटन, दैनिक २५ सिलिन्डर उत्पादन क्षमता

प्रकाशित मिति :  5 November, 2021 5:57 pm


उमा केसी – 

लिवाङ । जिल्ला अस्पताल रोल्पामा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको छ । दैनिक २५ सिलिन्डर अक्सिजन ग्याँस उत्पादन क्षमताको प्लान्टको लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले अक्सिजनको अभावमा हुने सम्भावित अकाल मृत्युको जोखिमको न्युनिकरण गर्दै रोल्पाली जनताको जीवन रक्षाका लागि प्लान्ट सहयोगी हुने बताए ।

“हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सिजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ,” उनले भने । जिल्लाबाट थप उपचारका लागि बाहिर रिफर हुने विरामीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुने व्यवस्था गरिएको उनले बताए ।

संघीय सरकारकाे अन्तर्गत ७५ लाखमा उक्त पलान्ट सम्पन्न भएको बताइएको छ । प्रदेश सरकारबाट उपलब्ध दरबन्दीलाई निरन्तरता दिने तथा अस्पतालका अन्य सेवाहरुका लागि पनि पहल गर्ने उनको प्रतिवद्धता छ ।

केसीले स्वास्थ्य क्षेत्रको समस्यालाई हल गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा अक्सिजन प्लान्टको जडान भएपछि आम रोल्पालीको जीवनको सुरक्षामा सहजता थपिएको बताए । जिल्लामा विशेषज्ञ केन्द्रीत सेवाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालमा विद्युतको समस्या हल गर्न १०० केभिएको जेनेटर तथा स्वास्थ्य सामग्रीहरु प्रदान गरेको जानकारी गराए । उनले अस्पतालको सेवा सहज रुपमा प्रदान गर्न नगरपालिका गम्भीर भएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले जनताको स्वास्थ्यप्रति समिति गम्भीर रहेकाले सेवाको गुणस्तर वृद्धि गर्दै लैजाने बताए । अस्पतालका निमित्त प्रमुख प्रकाश बुढामगरले अक्सिजन सिलिन्डर जिल्लामै उपलब्ध हुने भएकाले अस्पतालले दिने सेवामा सुधार हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका कार्यवहाक प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा (माओवादी केन्द्र) रोल्पाकाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख होमनाथ भट्टराई लगागायतको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !