६ जेष्ठ २०८१, आइतबार

इश्वर पाेख्रेल उपस्थित कार्यक्रममा झडपकाे सम्भावना बढेपछि सिन्धुलीमा १३ घण्टे निषेधाज्ञा जारी

प्रकाशित मिति :  10 November, 2021 12:19 pm


सिन्धुली । कमलामाई नगरपालिको विभिन्न क्षेत्रमा बुधवार विहान ११ बजेदेखि राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले साे क्षेत्रका स्टल बजार, जुनार चोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल क्षेत्र भित्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरेकाे जनाएकाे छ ।

सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा झडपकाे सम्भावना बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हाे ।

“जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) ले दिएको अधिकार प्रयोग गरि निषेधित क्षेत्र घोषणा गरिएको”, सूचनामा उल्लेख छ।

निषेधाज्ञा गरिएकाे समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमको सभा, समारोह तथा जुलुस नगर्न नगराउन आग्रह गर्दै उल्लंघन गरे कानुन बमोजिम कारबाही गर्ने प्रशासनले जनाएकाे छ ।

कमलामाई नगरपालिकाले बाल उद्यान पार्कको उद्घाटन गर्न, बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई बोलाएको थियाे।

पोख्रेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धन दलले विरोध जनाएका छन् । एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !