२० बैशाख २०८१, बिहिबार

बेलायतमा एक दिनमा अझै पनि दैनिक ४० हजार नयाँ सङ्क्रमित

प्रकाशित मिति :  11 November, 2021 4:51 pm


बेलायत । बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।सङ्क्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । सङ्क्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ ।

देशभरीका १२ वर्षमाथी बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।

सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।



प्रतिक्रिया दिनुहोस !