१२ बैशाख २०८१, बुधबार

धार्मिक आस्थाको केन्द्र बन्दै थानीमाई मन्दिर, मङ्गलबार लाग्छ फूलको डोली चढाउनेकाे भीड

प्रकाशित मिति :  17 November, 2021 11:33 am


कृष्ण न्यौपाने-

दमौली । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले तनहुँका अलवा चितवन, गोरखा, लमजुङ, नवलपुर, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन यहाँ आउने गरेको जानकारी दिए । 

“थानीमाईमा पूजाअर्चना गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ, त्यही कारण आज यस ठाउँ धार्मिक आस्थाको केन्द्रका रूपमा विकास भइरहेको छ”, थापाले भने । 

प्रत्येक वर्ष कात्तिकको मङ्गलबार थानीमाई मन्दिरमा भक्तजनले फूलको डोली चढाउने गर्दछन् । कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । 

फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ । यस वर्ष कात्तिकमा मन्दिरमा २२५ फूलको डोली भित्रिएको छ । कात्तिकको मङ्गलबार मात्रै मन्दिरमा करिब २० हजार भक्तजनले पूजाअर्चना गरेका छन् । 

मन्दिरमा रातभर जागाराम बसेर बत्ती बाल्ने प्रचलन छ । कात्तिकको पहिलो मङ्गलबार १८, दोस्रो मङ्गलबार ५५, तेस्रो मङ्गलबार २८, चौथो मङ्गलबार ९२ र पाँचौँ मङ्गलबार ३२ फूलको डोली भित्रिएको छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा डोली चढाउने परम्परा छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघमा समेत भक्तजनको भीड लाग्छ । 

डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षहरूमा थानीमाई पुग्न सडक निर्माण गरिएको छ । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको थापाले बताउनुभयो । भक्तजन फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । 

परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुद्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो ।  

विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती छ । सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासी बताउँछन् । 

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव हुने

तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई संवद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले गण्डकी परिक्रमा महोत्सव हुने भएको छ । 

देवघाटको धार्मिक महत्वको संवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा आजदेखि देवघाटधाम गण्डकी परिक्रमा महोत्सव हुन लागेको हो ।

आज बिहान तनहँुतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर), देवपुर (साँढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम)को परिक्रमा गर्ने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए । 

त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिने छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, सुकदेव भागवत आश्रम, रमानुज वेद आश्रम, राधाकृष्ण मन्दिर, दिव्यधाम मन्दिरको परिक्रमा गरिने घिमिरेले बताउनुभयो । उक्त महोत्सवअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली भगवतीको दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, दुर्लभ देव नदीको पुजन, धार्मिक नगरी नारायणगढको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा बैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम छ । 

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमको तयारीका लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीको अध्यक्षतामा सोमबार तयारी बैठक बसेको थियो ।

बैठकमा गलेश्वर आश्रमका पिठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालगायतका समितिका पूर्वअध्यक्ष, वडाध्यक्ष, राजनीतिक दलका स्थानीय प्रतिनिधि, विभिन्न सामाजिक, शैक्षिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । 

रासस

 



प्रतिक्रिया दिनुहोस !