१३ बैशाख २०८१, बिहिबार

रोल्पामा अनुदानको सोलारमा घोटालाको आशंका, नियमविपरित गाउँपालिकादेखि रेडक्रसका पदाधिकारी समेत कागजपत्र संकलनमा

प्रकाशित मिति :  4 March, 2020 7:35 pm


रोल्पा, २१ फागुन ।

रोल्पामा अनुदानमा परेको सोलार हिनामिनाको आशंका बढेको छ ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सोलार जडानका लागि गाउँपालिका र नगरपालिकाका वडाभित्र रहेका स्वास्थ, विद्यालय छनौट भएकोमा गाँउपालिका भित्रका केही व्यक्तिले सोलार आँफै ल्याईदिने भन्दै नियम विपरित कागजपत्र संकलन गरेका छन् । अनुदान पाएका सँस्थालाई केही सोलार ठेकदार कम्पनीका ठेकदार र जनप्रतिनिधिले सम्झौताका लागि केन्द्र जान रोक्ने प्रयास गरिरहेका छन् ।

नियम अनुसार सम्बन्धित संस्थाका आधिकारिक व्यक्तिले नै परिचयपत्र सहित वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पुगेर अनुदान सम्झौता गर्नुपर्छ । यदि केन्द्रमा पुग्न नसके ई-मेलको माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गर्न सकिन्छ र त्यसका लागि पनि सम्बन्धित कार्यालयकै कर्मचारी हुनपर्छ । तर, गाँउपालिकाका केही पदाधिकारी र कर्मचारीले ‘तपाईहरु कतै जानुपर्दैन हामी ल्याईदिन्छौं’ भनेर रोक्ने र संस्थाका कागजात लिएर जाने गरेका छन् ।

सुनछहरी गाउँपालिकाका एक वडा अध्यक्षले आफूहरूले सोलार उपलब्ध गराउने भन्दै सम्झौताका लागि कागजपत्र मगाएका छन् । सुनछहरी गाउँपालिकाको गाममा रहेको जनता आधारभूत विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र जिसीले भने,’ सुरुमा त हामीलाई काठमाडौँ सम्झौताका लागि जानभनियो तर पछि फेरी गाउँपालिकाले हामी आफैं ल्याईदिने भन्दै कागजपत्र मागियो सबै पठाएका छौं बाँकी त हामी लाई थाहा भएन ।’
थवाङ गाउँपालिका- ३ थर्पुमा रहेको सामुदायिक स्वास्थ्य ईकाई केन्द्रका प्रमुख देवेन्द्र बुढाले भने,’ गाउँपालिकाले नै सोलार बाँड्ने भनेर लेटर प्याड माग्नुभएको छ ।’ उनका अनुसार गाउँपालिका एक कर्मचारीले गाँउपालिकाबाटै सोलार अाउने भनेर कागजपत्र लिएर गएका छन् ।

परिवर्तन गाउँपालिकामा रेडक्रस शाखाका कर्मचारीले सोलार ल्याईदिन्छु भन्दै संस्थाका आधिकारिक कागजात बनाएर लिएर गएका छन् । बागमारामा रहेको स्वास्थ ईकाई प्रमुख सविता पुनले रेडक्रसकस एक कर्मचारीले आफूलाई हस्ताक्षर गराएर पत्र लगेको बताईन् । उनले भनिन्,’ मलाई त थाहा थिएन तर म सोलार मिलाई दिन्छु भनेर कागजात लिएर जानु भएको छ ।’
तर, नियमले अनुदान समझौताका लागि सम्बन्धित संस्थाबाहेक तेस्रो व्यक्तिलाई अनुमति दिन्न ।

केन्द्रले सूचना निकाल्दा नै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा सम्झौता गर्न आउने व्यक्तिले आफ्नो कार्यालय वा संस्थासंग सम्बन्धित भएको परिचयपत्रको प्रतिलिपी अनिवार्य लिएर आउन भनेको छ । तर, रोल्पामा धमाधम असम्बन्धित व्यक्तिले कागजपत्र संकलन गरिरहेका छन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले सम्बन्धित सँस्था बाहेकका व्यक्तिले सोलार अनुदानमा सम्झौता गर्न नमिल्ने बताए । उनले भने,’बाहिरको व्यक्ति आएर हुँदैन, सम्बन्धित संस्थाकै व्यक्ति आउन पर्छ, ई-मेलको सुविधा पनि छ बरू उहाँहरुले ई-मेलमार्फत हस्ताक्षर गरेर काम गर्ने सुविधा पनि दिईएको छ तर असम्बन्धित व्यक्तिले पाउँदैनन् ।’ गाउँपालिका वा अरू कसैलाई सोलार अनुदानमा समन्वय गर्ने कुनै जिम्मा नदिएको उनले प्रष्ट पारे ।

अनुदान परेको संस्थाले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग सम्झौता गरेपछि उपयुक्त सोलार कम्पनी छनौट गर्न सक्छ । सूचिकृत सोलार कम्पनीबाट जसले मापदण्ड पुरा गरेर उपयुक्त मूल्यमा उपलब्ध गराउँछ सँस्थाले सोही कम्पनीबाट सोलार खरिद गर्ने हो । केन्द्रका निर्देशन ढकालले भने ,’ बोलपत्रको व्यवस्थालाई सहज बनाएका छौं, अनुदान सम्झौता भएपछि सम्बन्धित संस्थाले सूचिकृत कम्पनीमध्यबाट मूल्य बुझेर छनौट गर्न सक्छन्,जसले उपयुक्त र सस्तो मूल्यमा दिन्छ उसैबाट खरिद गर्ने हो ।’

तर, रोल्पामा गाउँपालिकाका केही पदाधिकारी र कर्मचारीसँग मिलेर सम्बन्धित संस्थालाई गुमराहमा पारेर एकलौटी ढंगले सोलार बेच्ने प्रयास भएको छ । अघिल्लो पटक पनि रोल्पामा यस्तै भएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आउदो बैशाख २० गतेसम्म अनुदानका सबै काम सक्ने भनेको छ । तर २ महिना भन्दा कम समय हुँदापनि सम्बन्धित संस्थाहरुलाई सोलार हामी ल्याईदिन्छौं भन्दै कागजपत्र लगेर अलमलाउने काम भएको छ ।



प्रतिक्रिया दिनुहोस !