१६ बैशाख २०८१, आइतबार

रोल्पाको पर्यटन प्रर्वद्धन गर्न हेलि टुर

प्रकाशित मिति :  12 February, 2022 9:30 pm


उमा केसी
रोल्पा। रोल्पाको आन्तरिक पर्यटन प्रवर्द्धन का लागि निजि क्षेत्रले चासो देखाएको छ । हाल सदरमुकाम लिबाङदेखि जलजलाका लागि सो हेलिकप्टर सेवा व्यवस्था गरिएको हो ।

जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलाका लागि निजि क्षेत्रले हेलि टुर सेवा शुरु गरेका हो । सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो । लिबाङ–जलजला हेलिकप्टर उडानको शनिवार एक कार्यक्रमकाबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरेका थिए ।

फिस्टेल एयरको नाइन् एन–एजेआर हेलिकप्टरका पाइलट क्याप्टेन सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरुलाई नगरप्रमुख केसी र उपप्रमुख मनकुमारी घर्तीमगरले फूलमाला लगाएर उडानको शुभारम्भ गरेका थिए ।

यात्राको पहिलो दिन शनिबार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ भएको गेमी होमस्टेका अध्यक्ष तथा गाइडर बालकुमार पुन पृथ्वीले जानकारी दिए । रोल्पामा पर्यटन सम्भावनाका थुप्रै पर्यटन स्थाल भएता पनि त्यस्ता स्थानहरु ओझेलमा परेकाले पर्यटन प्रर्वद्धनका लागी हेलिटुर आयोजना गरिएको पुनले बताए । लिबाङ–जलजलाको लागि हेलिकप्टर भाडा प्रतिव्यक्ति १८ हजार ५ सय तोकिएको छ ।

जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाई छ । हाल जलजला क्षेत्रमा हिउँ परेकाले पनि पैदल वा सडक यात्रा झन कठिन हुने गरेको छ ।

जलजला थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमानामा पर्छ । प्राकृतिक रुपमा निकै मनमोहक रहेको जलजला धार्मिक रुपमा पनि प्रसिद्ध रहेको छ ।

जलजलालाई माओवादीहरुले द्वन्द्वकालमा महत्वपूर्ण प्रतीक मान्दथे । जलजलाको नामवाट विभिन्न अभियाजहरु पनि चलेकाले जलजलालाई युद्ध पर्यटनको रुपमा पनि हेरिन्छ । यहाँ वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाई बराह जस्ता देवताको पुजा गर्ने गरिन्छ ।

हेलिकप्टरवाट जलजला भ्रमण गरि फर्किएका स्थानिय व्यवसायि रमेश अधिकारीका अनुसार मनमोहक दृश्यमा हिउ सगै सुन्दर वातावरणमा रमाएर आएको बताए । जलजला भ्रमण गर्ने लामो समयदेखिको इच्छा पुरा भएको अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !