१८ बैशाख २०८१, मंगलबार

नेपाल र भारतबीच जीटूजी सम्झौता, पहिलो वर्ष १ लाख ५० हजार टन रासायनिक मल नेपाल आउने

प्रकाशित मिति :  28 February, 2022 6:59 pm


काठमाडौं । लामो समयको कसरतपछि भारत सरकारसँग रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकार बीच समझदारी भएको छ ।

सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा भारतबाट जीटूजी प्रणलीमार्फत पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सम्झौता अनुसार ५ वर्षमा भारतबाट नेपालमा ९ लाख ३५ हजार मेट्रिक टन युरिया र डीएपी मल आयात हुने भएको छ ।

मन्त्रालयका अनुसार भर्चुअल वार्तामा भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रको आदानप्रदान भएको हो । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान गरेपनि मलको हाहाकार पूर्ण रुपमा सम्वोधन हुने छैन । भारतबाट जीटूजी प्रणालीमा आउने मलले नेपालको कुल मल खपतको करिब ३० प्रतिशत मलको माग धान्ने छ ।



प्रतिक्रिया दिनुहोस !