१५ बैशाख २०८१, शनिबार

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

प्रकाशित मिति :  11 March, 2022 12:24 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण र स्तरोन्नत्तिपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २६ लाई हस्तान्तरण गरेको छ । हस्तान्तरणसँगै यो मैदान सर्वसाधारणको लागि पनि खुला भएको छ ।

परियोजना वडा नं. २६ र स्थानीयको सहकार्यमा डिजाइन गरी पुनर्निमाण तथा स्तरोन्नत्ति गरिएको हो । मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेलका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो ।

यो मैदान ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको छ । यस मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्ती लगायतका सुविधा छन् । स्थानीयबासी र वडा नं. २६ को अनुरोधअनुसार एनसेलले मैदान निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो । एनसेलले आगामी २ वर्षसम्म त्यस मैदानको मर्मतसम्भार गर्नेछ ।

मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ बीच गत वर्ष सम्झौता भएको थियो ।

“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

काठमाडौं महानगरपालिका वडा नं. २६ का अध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । “एनसेलको सहयोगमा हामीले यस किसिमको पहिलो बहुपयोगी खेल मैदान बनाएका छौं । एस्ट्रोटर्फ बिच्छ्याई बनाइएको आधुनिक मिनी फुटबल मैदानमा जुनसुकै मौसममा खेल खेल्न सकिन्छ र यसको मर्मत पनि निकै सजिलो छ,” उनले भने, “यो मैदान हाम्रो समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँको संरक्षणमा ठूलो योगदान पु¥याएको छ ।”

एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !