८ बैशाख २०८१, शनिबार

ऊर्जामन्त्री भुसाल र नर्वेका राजदूतबीच भेटवार्ता

प्रकाशित मिति :  23 March, 2022 2:25 pm


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भटका अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन्।

ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वे गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन्। मन्त्री भुसालले आफूले मन्त्रालय संहालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिएको बताएकि थिइन् ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँ नयाँ चुनौती झेल्नु परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्,“जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।” उनले मनाङ्, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमुना काम हुने बताइन् ।

त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताए । उनले जलविद्युत क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै ९ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराए। राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !