१९ मंसिर २०८२, शुक्रबार

रोल्पाको नमूना विद्यालयमा उत्प्रेरणा कक्षा

प्रकाशित मिति :  2 April, 2022 10:41 am


उमा केसी

रोल्पा । शिक्षक सेवा आयोगको परीक्षाका कारण अधिकांश छिमेकी विद्यालयको पठनपाठन बन्द रहेका बेला रोल्पा सदरमुकाम लिवाङको पठनपाठन भने निरन्तर चलिरहेको छ । 

अधिकांश छिमेकी विद्यालय बन्द रहँदा पनि पठनपाठनलाई निरन्तरता दिने बालकल्याण नमूना माध्यमिक विद्यालयले नयाँ अवधारणा अघि सारेसँगै पठनपाठनले निरन्तरता पाएको हो । 

विद्यालयका प्रायः शिक्षक सेवा आयोगको परीक्षालाई जिल्ला बाहिर भए पनि विद्यार्थीको पठनपाठन भने प्रभावित भएको छैन । विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर पठनपाठनमा वैकल्पिक सोच अघि सारेर पठनपाठनलाई निरन्तरता दिएको विद्यालयले बताएको छ।

शिक्षकको अनुपस्थितिले खाली भएका कक्षामा सो विद्यालयमा अचेल नागरिक कर्तव्य, नैतिक शिक्षा, बालविवाह, साइवर अपराध, उत्प्रेरणा, जलवायु परिवर्तन जस्ता कक्षा चल्ने गरेका छन् । 

“विभिन्न क्षेत्रका जानकार व्यक्तिको सहयोगमा खाली समयमा यस्ता कक्षा सञ्चालनको परिपाटी मिलाएका छौँ”, विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भने । 

परीक्षा नजिकिँदै गरेको बेला पठनपाठन बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने भएपछि यस्तो अवधारणा अघि सारेको उनकाे भनाइ छ। विद्यालयको अनुरोधमा सम्बन्धित क्षेत्रका जानकार व्यक्तिले स्वयंसेवी ढङ्गले पठनपाठनमा सहयोग गरेको बताए। 

सो विद्यालयका शिक्षकले शिक्षक सेवा आयोगको परीक्षाका लागि चैत १४ गतेदेखि नै विद्यालयमा बिदा लिएर जिल्ला बाहिर गएका थिए ।  

खाली समय कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीच भएको छलफलपछि यस्तो निचोडमा पुगेर पठनपाठनलाई निरन्तरता गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए।

वर्षभरि किताबी ज्ञानमा सीमित भएका विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरको पनि ज्ञान दिनका लागि यस्तो तरिका अपनाएको न्यौपानेले बनाए । उनका अनुसार एक हप्ताका लागि सो विद्यालयमा जिल्ला सदरमुकाममा बसेर विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिले पढाउने गर्दछन् । 

आसन्न एसइई परीक्षालाई लक्षित गरेर उत्प्रेरणामूलक कक्षाका साथै विभिन्न विषयवस्तुको पढाई हुने गरेको विद्यालयको भनाइ छ । 

विद्यालयले डिभिजन वन कार्यालय रोल्पाको सहयोगमा वातावरण तथा जलवायु परिवर्तन, रोल्पा जिल्ला अदालतको सहयोगमा नेपालको संविधान एवं देवानी तथा फौजदारी कानूनको आधारभूत ज्ञान र जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा साइबर कानून, बालविवाह जस्ता विषयवस्तुको पठनपाठनको व्यवस्था मिलाएको छ ।

विभिन्न कार्यालयका कर्मचारी तथा अन्य क्षेत्रका जानकार व्यक्तिले पठनपाठन गर्ने व्यवस्था मिलाएको विद्यालयको भनाइ छ । विद्यालयले निर्णय लेखन, निवेदन लेखन, तमसुक लेखन, सम्झौता लेखन जस्ता घरसारमा प्रयोग हुने सीपबारे पनि ज्ञान दिएको छ ।  

विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउनका लागि नैतिक शिक्षाका साथै नागरिक कर्तव्यका विषयमा पनि पठनपाठन चलाएको छ । परीक्षा नजिकिरहेको समयमा हुने लामो बिदाले पढाइ प्रभावित हुने डरमा रहेका विद्यार्थी भने विद्यालयको यो अवधारणाले खुसी देखिएका छन्। 

“हामीले कोर्समा नपढेको तर जीवनका लागि उपयोगी विषय पढ्न पाएकामा खुसी लागेको छ”, कक्षा १० का विद्यार्थी चित्र रोकाले भने । पाठयक्रम बाहिरका विषयले पनि हाम्रो नियमित पठनपाठनलाई सहयोग गरिरहेको रोकाले बताए। 

विद्यालयले हरेक वर्ष कम्तीमा एक हप्ताका लागि भए पनि कक्षा बाहिरका विषय पढाउने गरी व्यवस्था गर्नुपर्ने रोकाको सुझाव छ । 

विसं २०२३ मा स्थापना भएको सो विद्यालय रोल्पाको नमूना विद्यालय हो । विद्यालयलाई २०७४ सालमा सरकारले नमूना घोषणा गरेको थियो । 

सो विद्यालयमा हाल दुई हजार ८०० विद्यार्थीले पढ्छन् । विद्यालयमा सिभिल इञ्जिनियरिङमा डिप्लोमा र अठार महिने कोर्सका साथै कक्षा ११ र १२ मा शिक्षा शास्त्र, विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुन्छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !