१३ बैशाख २०८१, बिहिबार

सैनामैना नगरपालिका ११ ले बनायो सुविधासम्पन्न अपाङ्गतामैत्री भवन

प्रकाशित मिति :  3 April, 2022 6:49 pm


सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ ले आफ्नै सुविधासम्पन्न अपाङ्गतामैत्री प्रशासनिक भवन निर्माण गरेको छ । वडा कार्यालयको आफ्नै नयाँ भवन बनेसँगै वडाबाट हुदै आएका सेवा प्रभाव थप सहज हुनेछ ।

१९ जना दाताको सहयोगबाट प्राप्त जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको नवनिर्मित प्रशासनिक भवन आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन भएको हो । नयाँ भवनमा सोमबारबाट निरन्तर सेवा प्रवाह हुने वडा अध्यक्ष सुनिल मरासीनीले जानकारी दिए ।

“उत्तरबरौली टोलमा दाताले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा निर्माण भएको दुई तले भवनको भुँई तल्लामा चारवटा कोठा रहेका छन्,” वडाअध्यक्ष मरासीनीले भने, “भुँई तल्लाका सबै कोठा अपाङ्गतामैत्री मैत्री हुन्, अन्य क्षमताका मानिसहरुले पनि सहजै वडाको भवनमा आफैँ उपस्थित भएर सेवा लिन सक्नेछन् ।”

भवनको भुँई तल्लामा वडाध्यक्ष कार्यकक्ष, वडा सचिव कार्यकक्ष, राजश्व शाखा र सोधपुछ शाखा, पहिलो तल्लामा सभाहल, प्राविधिक कक्ष, बैठक हल, वडा सदस्य कक्ष गरि कुल ८ वटा कोठा र ५ वटा शौचालय रहेका वडाध्यक्ष मरासीनीले बताए ।

१४६७.६६ वर्गाफिटमा निर्माण भएको भवन निर्माणका लागि मूल्य अभिवृद्भी करसहित कुल लागत अनुमान १ करोड ४१ लाख २१ आठ सय २५ रुपैँया ७३ पैँसा गरिए पनि बोलपत्रमा देउराली निर्माण सेवा ले १ करोड ३ लाख ८९ हजार ५ सय ४२ रुपैँया ९० पैँसामा भवन निर्माणको ठेक्का पाएको थियो ।

हालसम्म ६५ लाख ४१ हजार ३ सय ५९ रुपैँया ७७ पैसा मात्र भुक्तानी भएको र बाकीँ भुक्तानी केहि दिनमा हुने नगरपालिकाका इन्जिनियर अरुण खनालले बताए ।

“२०७७ साल बैशाख ९ गते नै निर्माण सम्झौता भएपनि आयोजनाले दुइपटकसम्म कोरोना महामारी झेल्नुपरेका कारण वडाको भवन निर्माण योजना ६ महिना लम्बिएको हो,” इन्जिनियर खनालले भने ।

भवन पूर्णरुपमा भुकम्पमैत्री र अपाङ्गतामैत्री रहेको इन्जिनियर खनालले जानकारी दिए । ।



प्रतिक्रिया दिनुहोस !