साताको कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । केहीदिनको गिरावट पछि मंगलबार दोहोरो अंकले बढेको सेयरबजार बुधबार भने भारी अंकले घटेपछि आज भने सम्हालिने प्रयास गरेको छ ।
बिहीबार नेप्से परिसूचन ४ अंकले बढेको छ भने कारोबार रकममा पनि केही सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले बढेर ४४३.१४ अंकमा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ ।
बिहीबार कारोबारका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड अब्बल रहेको छ । संस्थाको १० करोड ३६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज ग्रीन भेञ्चर्स र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस दिन घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकोसेयरमूल्य ६.३० प्रतिशतले घटेको छ ।
कूल २३१ वटा कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








