२० बैशाख २०८१, बिहिबार

इ–सेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने

प्रकाशित मिति :  20 March, 2020 6:12 pm


काठमाडौं, ७ चैत ।

डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इ–सेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि नयाँ योजना ल्याइएको इ–सेवाले जनाएको छ । सो व्यवस्था बिहीबार रातिदेखि आगामी वैशाख १६ गतेसम्म लागि लागू हुने भएको छ । यस्तै, बैंकमा रकम ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने भएको छ । इ–सेवामार्फत इ–सेवा खातामै पैसा पठाउँदा गर्दा यसअघि नै निःशुल्क सेवा रहेकामा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो ।

इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निःशुल्क बनाएका छौँ ।” यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ । इ–सेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रम ल्याउने जनाएको छ ।

इ–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !