८ बैशाख २०८१, शनिबार

‘जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा म ढुक्क छु’

प्रकाशित मिति :  26 April, 2022 6:45 pm


राेल्पा । राेल्पाकाे सुनिलस्मृति गाँउपालिकाको अध्यक्ष पद्का लागि नेकपा (माओवादी केन्द्र)बाट मनिराम बुढाथोकीले उमेद्वारी दर्ता गराएका छन् । आन्तरिक रस्साकस्सीबीच बुढाथोकीले अध्यक्ष पदका लागि यसपटक अध्यक्ष पदको टिकटमा बाजी मारेका हुन् ।

रोल्पाको सुनिलस्मृति राजनीतिक सामरिक हिसाबले महत्वपूर्ण क्षेत्र हो । रोल्पाको पूर्व क्षेत्रको मुख्य नाका र बजार क्षेत्र भएकाले पनि यसको प्रभाव रोल्पाको राजनीतिमा रहने गर्छ । त्यसैले सत्तारुढ गठबन्धन भएको खण्डमा रोल्पा नगरपालिका माओवादी केन्द्रलाई छोडेर कांग्रेसले यो गाउँपालिका दाबी गर्ने तयारी समेत थियो ।

तर गठबन्धन नहुने भएपछि दुबै पक्षलाई सहज भयो । नेपाली कांग्रेसले गञ्जबहादुर क्षेत्रीलाई अध्यक्षको उमेद्वार बनायो भने माओवादी केन्द्रले बुढाथोकीलाई । बुढाथोकी रोल्पाको पूर्वी क्षेत्रका पुराना र पाका कम्युनिष्ट नेता हुन् । २०४७ सालमा पार्टी सदस्यता लिएका बुढाथोकी तत्कालीन फगाम गाविसको संयुक्त जनमोर्चा नेपालको उपाध्यक्ष बनेका थिए ।

२०४९ सालमा संयुक्त जनमोर्चाको जिल्ला सचिव बनेका बुढाथोकी जनयुद्ध सुरु नहुँदै २०५० देखि २०५१ सम्म अर्धभूमिगत बनेका थिए । २०५० सालमा २२ दिनसम्म हिरासतमा बसेका बुढाथोकी तत्कालीन नेकपा माओवादीमा सक्रिय बने । जनयुद्धकै क्रममा २०५३ देखि २०५९ सालसम्म जेलजीवन विताएका थिए ।

२०५९ सालमा जेलमुक्त भएपछि उनी फेरि नेकपा माओवादीमा सक्रिय बने । माओवादी र एमालेबीच एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष बनेका बुढाथोकी पार्टी विभाजनपछि फेरि नेकपा माओवादी केन्द्रको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष बनेका थिए ।

बुढाथोकीले आफू राजनीतिमा मात्रै नभएर समाज सेवामा पनि सक्रिय भएकाले पनि चुनाव जित्ने विश्वास गरे । उनले भने, “आजसम्म मैले लाभको पद लिएको छैन, यस पटक जनताको सेवा गर्ने मौका पाउने छु भन्ने विश्वास छ ।” बुढाथोकीले उमेद्वारी दर्ता गर्ने कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु झक्कु सुवेदी र जोखबहादुर महरा सहभागी थिए ।

बुढाथोकी पार्टीको मतसँगै लोकप्रिय मत पनि आफ्नो पक्षमा आउने विश्वासमा छन् । सुनिलस्मृति गाउँपालिका २०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रले नै जितेको थियो ।

उनले भने, “यो क्षेत्रमा बसेर मैले राजनीतिक र सामाजिक रुपमा जति योगदान गरेको छु यसबारे सबै जानकार हुनुहुन्छ, आम जनताको सुखदुःखको साथी बनेर बसेको छु, अझै जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा म ढुक्क छु ।”



प्रतिक्रिया दिनुहोस !