२४ बैशाख २०८१, सोमबार

केशव स्थापितलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति :  2 May, 2022 6:51 pm


काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

यसैगरी स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाई प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।

आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैरसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन्, भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उल्लङ्घन हुन्छ, हुँदैन? भनी स्पष्टीकरण सोधेको छ ।

आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, “सामाजिक सेवा गर्ने पवित्र उद्देश्यले गठन भएका गैरसरकारी संस्थाले उम्मेदवारी मनोनयन गर्ने राजनीतिक दलका आन्तरिक मामिलामा प्रश्न उठाउन मिल्छ, मिल्दैन ?, यसरी आचारसंहिता उल्लङ्घन हुने गरी प्रेस विज्ञप्ति जारी गरेको सम्बन्धमा तपाईं र तपाईं संलग्न हुनुभएको संस्थालाई किन कारबाही नगर्ने ?”

आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रमसम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पनि पत्र पठाएको छ ।

आयोगले यही वैशाख १८ गते पत्र पठाई उक्त दिनको छलफल कार्यक्रममा विभिन्न व्यक्तिले बोलेको भनी सार्वजनिक भएका विषयवस्तुहरुका सम्बन्धमा आयोगको ध्यानाकर्षण भएकाले ‘कार्यक्रममा के कसो भएको हो ?’ भन्ने प्रश्नसहित विस्तृत खुलाई पठाइदिन हुने पत्र पठाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !