८ बैशाख २०८१, शनिबार

देशभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धनः नेता पुन

प्रकाशित मिति :  10 May, 2022 2:45 pm


उमा केसी– 

रोल्पा । पूर्व उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेकपा मोआवादी केन्द्रका नेता वर्षमान पुनले देशभर सत्ता गठबन्धन हुन्छ भन्नु मनोगत हुने बताएका छन्।

रोल्पा सदरमुकाम लिवाङमा मंगलवार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता पुनले सो देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्धन सफल भएको दाबी गरे । 

“देशका सबै महानगर र उपमहानगर सहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्छ,” नेता पुनले भने। 

कतिपय ठाउँमा पाँच दलीय गठबन्धका सवै दल संलग्न रहने गरी गठबन्धन भएको र कतिपय ठाउँमा ४ दल, ३ दल र २ दलको समेत गठबन्धन भएकाले सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्टले देखाएको उनले बताए । 

नेता पुनले मंगलबार राेल्पाकाे लिवाङमा गरेकाे पत्रकार सम्मेलन । तस्बिरः उमा केसी

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी १०६ स्थानीय तहमा मात्रै तालमेल भएको चर्चा गर्दै पुनले यस पटकको तालमेललाई सफल मान्नुपर्ने बताए । “निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हो” उनले थपे।

तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुख जित्ने नेता पुनको दाबी छ । “दोश्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको छ,” नेता पुनले भने । 

पुनका अनुसार नेकपा माओवादी केन्द्रको १७५ देखी २००, नेकपा एमालेको १५० देदि १७५ स्थानीय तह र अन्य दलले ८० देखि १०० स्थानीय तहको प्रमुख जित्नेछन्। 

स्थानीय तह निर्वाचनको लागि गृह जिल्लाका विभिन्न स्थानीय तहका निर्वाचनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पामा छन्। पुनले जिल्लाका आधा दर्जन बढी स्थानीय तहको चुनावी सभालाई सम्बोधन गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !