८ बैशाख २०८१, शनिबार

स्थानीय तह निर्वाचन: ७२ घण्टाका लागि चिनियाँ नाका बन्द

प्रकाशित मिति :  11 May, 2022 3:25 pm


रसुवा । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ ।

नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमति अनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

मङ्गलबार भने १३ ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार सामान आयात बन्द गरिएको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएपश्चात् मानिसको आवतजावत बन्द नाकामा चिनियाँ सवारी चालकले मात्र एकतर्फी रूपमा रसुवागढी पुर्‍याउँदै आएका छन् ।

यस्तै अधिकांश कर्मचारी निर्वाचनमा परिचालित भइसकेकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै भन्सार जाँचपासको प्रक्रिया केही दिनका लागि स्थगन भएको रसुवागढी भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !