१७ बैशाख २०८१, सोमबार

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी

प्रकाशित मिति :  11 May, 2022 6:34 pm


कुश्मा । सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरी पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् ।

जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेको उनले बताए

एक सय ४७ जना मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ जना सहयोगी कर्मचारी गरी ११ सय भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुश्मामा तालिम दिइएको थियो ।

मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । निर्वाचनको तयारी अन्तिमचरणमा पुगेको उनले बताए । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रजिअ सापकोटाले बताए।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् ।

जिल्लाभर झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सात वटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता रहेका छन् । जिल्लाभर ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस !