१३ बैशाख २०८१, बिहिबार

नगरपालिकामा चारवटा कार्यलाई प्रथामिकता दिन्छु: भीरकोट नगरप्रमुख कर्मचार्य

प्रकाशित मिति :  19 May, 2022 2:34 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन २०७९ को हालसम्म २ वटा उपमहानगरसहित ५७० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएकोमा नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकाल्दै पहिलो स्थानमा छ । यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ ।

स्याङ्जा जिल्लाको ११ पालिकामा पनि मतगणनाको परिणाम आइसकेको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको उक्त जिल्लामा ७ पालिका नेकपा एमालेले आफ्नो पोल्टोमा पार्न सफल भएको छ भने बाकीँ ४ पालिका नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

भीरकोट नगरपालिकाको निर्वाचन नतिजा हेर्ने हो भने ४७ सिट मध्ये ४६ सिट नेपाली कांग्रेसले कब्जा गरेको छ बाकी एक सिट नेकपा एमालेले आफ्नो पल्टोमा पर्न सफल भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा भीरकोट नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस बिच कडा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुख उम्मेदवार बनेका विश्वनाथ अर्याललाई नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोविन्द कर्मचार्यले ८ सय ३५ मतको अन्तर पार्दै ६ हजार ५०४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी अर्यालले ५ हजार ६६९ मत ल्याएर पराजित भएका छन् ।

भीरकोट नगरपालिकाका नगरवासीलाई कर्मचार्यले धन्यावाद दिएका छन् । नगरवासीको विश्वास नतोड्ने र नगरपालिकामा चारवटा कार्यलाई प्रथामिकता दिने कर्मचार्यले बताए ।

कृषिमा आत्मनिर्भर बनाउन वैज्ञानिक कृषि प्रणाली लागू गर्ने, शिक्षामा परिमार्जन गरि आधुनिक शिक्षा लागू गर्ने, वैदेशिक रोजगारीको लागि कोरोनाको कारणले रोकिएका युवाहरुलाई कृषि र पशुपालनबाट रोजगार दिलाउने कार्यलाई जोड दिने उनले बताए ।

उनले भने, “भीरकोटका ६० वर्षभन्दा माथिका महिला पुरुषलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने र दिगो विकासको लागि जोड गर्नेुका साथै हाम्रो र राम्रो भीरकोट बनाउँछु ।’’

कर्मचार्यले हिजो आफू निर्वाचनमा जादा नेपाली कांग्रेस पार्टी एक माध्यम मात्र रहेको र निर्वाचित भइसकेपछि आफू सबैको साझा भएर काम गर्ने बताए ।

“पहिला पनि गाउँविकास समिति हुँदा दुई दुई पटक अध्यक्ष भएर काम गरेको अनुभव रहेको छ । त्यो कारणले पनि भीरकोट जनताले खोजे जस्तो र चाहे जस्तो विकास गरेर विश्वास दिलाउन सक्छु’’, कर्मचार्यले भने ।

निवर्तमान मेयर छायाराम खनालको कार्यकालमा धेरै विकासका कार्यहरु अधुरा रहेको छन्, त्यही कार्यहरुलाई प्रथामिकता दिने र बाकी रहेका योजनाहरु पनि जनताको चाहाना र जनताको माग अनुसार त्यसलाई सम्बोधन गरेर काम गर्ने बताए ।

“भीरकोटका ग्रामिण सडकहरुको अवस्था नाजुक नै रहेको छ, त्यस्ता सडकलाई स्तरउन्नति गर्ने र भीरकोटका मुख्य सडकका रुपमा रहेका बयरघारी – विरुवा, बयरघारी – पर्वत, जोड्ने कच्चि सडकलाई कालोपत्रे गर्नका लागि नगरपालिकासँग प्राप्त बजेट नहुने भएकाले प्रदेश देखि संघ सँग बजेट माग गरेर कालोपत्रे गर्ने छु’’, उनले भने ।

कर्माचार्यले कृषि गर्ने जनताको लागि मलको अभाव हुन नदिने गरि समयमै कृषकहरुलाई मल प्रदान गरेर खेती गर्न पालिकाबाट अनुदान दिएर खेतीमात्र नभएर नगदेवालीको रुपमा लैजाने र युवाहरुले जुन क्षेत्रमा रुचि राख्छन् उही क्षेत्रमा संलग्न गरेर विदेश जानबाट रोक्ने र बैँक सँग समन्वय गरेर सस्तो ऋण प्रदान गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !