८ बैशाख २०८१, शनिबार

स्याङ्जा अस्पतालमा सुत्केरीकाे शल्यक्रियामा लापर्बाही

प्रकाशित मिति :  23 May, 2022 7:36 pm


रबि थापा,
स्याङ्जा । स्याङ्जा अर्जुनचौपारी वडा नम्बर-१ दारेगौँडाकी-२९ वर्षीया रेखा गौतम दर्जीले जेठ ४ गते सदरमुकाम पुतली बजारमा रहेको जिल्ला अस्पतालमा छोरी जन्माइन् ।

रेखाले आफू गर्भवती हुने भएपछि त्यहीँ अस्पतालमा निरन्तर स्वास्थ्य परीक्षण गरिरहेकी थिइन् । डाक्टरले जेठ १२ गते बच्चा जन्मिने समय (डेट) दिएको भए पनि जेठ ४ गते नै उनीलाई प्रसाव पीडाले छोयो ।

रेखालाई प्रसाव पीडा सुरु भएपछि बिहान नै अस्पताल पुगेपनि साँझ ४ः३० मा बच्चा जन्माइन् । नर्मल डेलिभरी भएपनि उनलाई त्यसदिन अस्पताल नै बस्न भनियो ।

जेठ ५ गते दिउँसो ११ बजे रेखालाई अस्पतालले स्वस्थ्य अवस्था सामान्य भएको कुनै खतरा नरहेको भनेर अस्पतालले डिस्चार्ज गरिदियो । कालीगण्डकी गाउँपालिका माइत भएकी रेखालाई उनका बुवा र श्रीमानले अर्जुनचौपारी स्थित घरमा लगे ।

अस्पतालबाट घरमा गएकै राती १२ बजेपछि पेट दुख्ने, रक्तश्राव हुने, ढाड दुख्ने समस्या भएपछि सहन नसकेर रेखा रुन थालिन् ।

घरमा भूत प्रेरतले गर्दा त्यो समस्या भएको हो कि भनेर रेखाका श्रीमान धामी खोज्न् तिर गए । त्यो दिन रेखाले बल्ल बल्ल रात कटाइन् । अर्को दिन जेष्ठ ६ गते परिवारले रेखालाई बिहान भीरकोट नगर अस्पताल पुर्‍याए । भिडियो एक्स रे गरिसकेपछि नर्सहरुले मासुको टुक्रा वा साल हुन सक्ने भएकाले उनीलाई तुरुन्त जिल्ला अस्पताल स्याङ्जामा लौजान सुझाव दिए ।

भर्खर जन्मेकी छोरीलाई घरमै छाडेर रेखालाई बिहान ११ बजेभित्र स्याङ्जा जिल्ला अस्पताल लगियो । अस्पतालका डाक्टरलाई समस्या सुनाउदा उनीहरुले त्यो गल्ती आफूहरुबाट नभएको भन्दै पिडितहरुलाई उल्टै दोष थुपारे । तर, पिडित पक्षहरुले पटक पटक भन्दा उनीहरुले दुईवटा साल थियो होला एउटा त्यहीँ रह्यो भनेर उम्किन खोजे ।

परिक्षण गरेपछि मासुको टुक्रा भएको ठहर भयो । मेसिनले सफा गरेर फालियो । स्याङ्जा अस्पतालका डाक्टरले बिरामीको अवस्था कमजोर भएको भन्दै रेखाका परिवारलाई दुई पोका (ए पोजेटिभ) रगत खोज्र लगाए । त्यसपछि कालीगण्डकीको बिर्घामा भएका रेखाका भाइको रगत परिक्षण गर्दा रेखाको रगतसँग उनको भाईको रगत (ए पोजेटिभ) मिल्छ ।

भाइको रगतले मात्र नपुग्ने हो कि भनेर भाइको एक जना (ए पोजेटिभ) भएको साथीले रगत दिन तयार हुन्छन् । तर, रगत जम्मा गर्न अस्पतालमा ब्लड ब्याग पाइएन ।

अस्पतालले बिरामीका परिवारलाई जहाँबाट भए पनि (ब्लड ब्याग) ल्याउछौँ भनेर आश्वसन दिन्छ, यता विरामीको हालत कमजोर हुदैँ गयाे । १२ बजेसम्म (ब्लड) दिनैँ पर्छ भनेको अस्पतालले साँझ ६ बजेसम्म (ब्लड ब्याग) को व्यावस्था गर्न नसकेपछि अस्पताल प्रशासनले बिरामीलाई पोखरा लौजान सुझाव दियाे ।

चिनेको एम्बुलेन्स भएका कारण उनलाई छिट्टै पोखारा पुर्याउन सकिएको रेखाको बुवा विजय दर्जीले बताए। पोखरामा पनि डाक्टरहरुले साल अड्केका कारण यस्तो भएको भनेर परिवारलाई बताएको रेखाका बुवाले सुनाए । “आज मेरो कोही चिनेको मान्छे थियो र त मेरो छोरीलाई बचाउन सके यहाँ त हजारौँ छोरीहरु उपचार गर्न आउनुपर्छ अस्पतालको यो लापरबाहीलाई कारबाही गर्नैपर्छ,’’ उनले भने ।

“मेरो छोरीले समयमै ब्लड ब्याग नपाएर जीवन घुमाउन परेको भए यसको जिम्मा कसले लिन्थ्यो’’ यहि प्रश्न विजयको मनसपटलमा घुमिरहन्छ ।

यस विषयमा लुम्बिनी सञ्चारले जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष इन्द्र गोदारलाई सम्पर्क गर्दा, उनले ब्लड ब्याग पोखराबाट ल्याउनुपर्ने हुँदा समयमा सेवा दिन नसकिएको बताए । मेडिकल सुपरिटेण्डेन्ट बिदामा बसेकाले लापर्बाही भएको बताए । उनले आफूहरुबाट गल्ती भएको स्विर्कादै बेलुका ६ बजे ब्लड ब्याग अस्पतालमा आएको तर त्यो बेलासम्म बिरामी पोखरा गएको गोदार बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !