२३ बैशाख २०८१, आइतबार

कपिलवस्तुमा छात्रालाई साइकल वितरण, ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमले विद्यालय जाने बढे

प्रकाशित मिति :  23 June, 2022 7:24 am


कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताए।

शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ ।

साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताए।

साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए । आर्थिक वर्ष ०७७/७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।
––– रासस



प्रतिक्रिया दिनुहोस !