२२ बैशाख २०८१, शनिबार

सूचनाका लागि राससमै भर पर्नुपर्ने गरी राससले आफूलाई विकसित गरोस् : सचिव डा अर्याल

प्रकाशित मिति :  17 July, 2022 9:41 am


काठमाडाैं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय समाचार समिति (रासस)ले नेपालका सञ्चारमाध्यमहरू समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिएका छन् ।

राससले आजबाट सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देश दिँदै उनले समाचार प्रदायक संस्थाका रूपमा छ दशकभन्दा लामो समयदेखि सेवा गर्दै आएको राससप्रति मुलुकका सञ्चारमाध्यमहरू भर पर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्ने गरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने बताए।

सचिव डा अर्यालले शुभकामना सन्देशमा भनेका छन्, “समाचार सामग्री निर्माण गर्ने क्रममा राससले आजदेखि एउटा फड्को मारेको छ । प्रविधिको उपलब्धता र प्रविधिमा भएको विकास यी सबै कुरालाई हेरेर अब श्रव्य दृश्यसम्बन्धी सामग्री पनि उत्पादन गर्ने जमर्को गरेको छ, त्यसका लागि म राससका सम्पूर्ण कर्मचारी, अध्यक्ष र व्यवस्थापन पक्षलगायत सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छु ।”

सचिव डा अर्यालले श्रव्य दृश्य सेवाले समाचारको विश्वसनीयतामा थप सहयोग पुग्ने धारणा राखे । सन्देशमा भनिएकाे छ, “प्रविधिको विकासले गर्दा सूचनामा नागरिकको पहुँच छिटो पुगेको छ, जोसँग पनि सूचना छ र समाचार सामग्रीमा पहुँच छ । रासस समाचार उत्पादन र वितरण गर्ने संस्था भएका कारण यसलाई अरु सञ्चारमाध्यमभन्दा पनि विश्वसनीय र गुणस्तरीय बनाउनु जरुरी छ । यस कार्यमा राससले सुरु गर्न लागेको भिडियो सेवा उपयोगी हुनेछ ।”
––– रासस



प्रतिक्रिया दिनुहोस !