२१ बैशाख २०८१, शुक्रबार

राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

प्रकाशित मिति :  17 July, 2022 9:46 am


काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिएका छन् ।

राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना दिँदै मन्त्री कार्कीले नेपालमा छ दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी समाचारको मुहानका रूपमा सेवा गर्दै आएको राससले आफूलाई नेपालमा मात्र नभएर दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

मन्त्री कार्कीले मुलुकका सञ्चारमाध्यमहरूलाई समाचार सेवा प्रदान गर्दै आएको समाचार प्रदायक समाचार समिति राससको नेपालको पत्रकारिताको इतिहासमा अलग्गै पहिचान रहेको बताए ।

सो शुभकामना सन्देशमा मन्त्री कार्कीले राससले समाचार प्रदायक संस्थाका रूपमा आफूलाई समयानुकूल विकास गर्दै द्रूतरूपमा विकास भएको सूचना प्रविधिअनुरुप आफ्ना सेवाहरूमा विविधिकरण गरी समयानुकूल परिमार्जन र सुधार गर्दै लैजानुपर्ने सुझाव दिए।

सन्देशमा उनले भनेका छन् ‘‘अहिलेको सूचना र प्रविधिको युगमा राससले समयको मागअनुुसार आफू र आफ्ना सेवाहरूलाई प्रभावकारी र गतिशील बनाउँदै लैजानुपर्छ ।’’

मन्त्री कार्कीले राससले आजदेखि सुरु गर्न लागेको भिडियो सेवाबाट नेपालका टेलिभिजनसहित सबै ‘डिजिटल मिडिया’ लाभान्वित हुन सकुन् र यस सेवा राससमा दिगो र प्रभावकारी बन्न सकोस् भनी कामना गरेका छन् ।
–––



प्रतिक्रिया दिनुहोस !