२४ बैशाख २०८१, सोमबार

सशस्त्रको उच्च निगरानीमा सीमाक्षेत्र

प्रकाशित मिति :  27 March, 2020 9:23 pm


 

 

 

भैरहवा, १४ चैत्र ।
कोरोनाका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सील गरेर सशस्त्र प्रहरी बल रुपन्देहीले उच्च निगरानीमा राखेको छ । भारतसँग सीमा जोडिएका रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पुर्णरुपमा सील गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमाक्षेत्रमा २२ वटा पिकेट र ५ वटा मोवाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताउनुभयो । सीमा क्षेत्रको अवस्था हाल अति संवेदशील भएको छ । “नेपालबाट खुल्ला सीमाको कारण मानिस भारत जान खोज्नु र भारतबाट नेपालतीर आउनेलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले भन्नुभयो ।

नेपाल–भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन बिना मानिसलाई सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीले जानकारी दिनुभयो । सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्वान्वयन गर्नका लागि जिल्लाको सबै क्षेत्र बुटवल, भैरहवा, गंगोलिया, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीको सुचना शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !