१५ बैशाख २०८१, शनिबार

श्रीलङ्कामा नयाँ राष्ट्रपतिका छान्न मतदान हुदैँ, प्रधानमन्त्री रनिल विक्रमसिङ्घ पनि प्रतिस्पर्धामा

प्रकाशित मिति :  20 July, 2022 12:29 pm


काठमाडौं । देश चरम आर्थिक सङ्कटमा फसेपछि सुरु भएको विरोधप्रदर्शनका कारण पदासीन राष्ट्रपतिले भागेर विदेशबाट राजीनामा दिएपछि बुधवार श्रीलङ्काको संसद्‌मा नयाँ राष्ट्रपति छान्न मतदान हुन लागेको छ।

अन्तरिम नेता नियुक्त प्रधानमन्त्री रनिल विक्रमसिङ्घ पनि राष्ट्रपतिको प्रतिस्पर्धामा छन्। उनलाई सत्तारूढ दलले उम्मेदवार बनाएको हो। राजपक्षसँग निकटता भएको भन्दै प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि बहिर्गमन चाहेका छन्।

प्रधानमन्त्री विक्रमसिङ्घलाई प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमले कडा चुनौती दिएका छन्। उनी सत्तारूढ दलका विद्रोही सांसद हुन्। संसद्‌बाट राष्ट्रपति निर्वाचित उम्मेदवारको पदावधि सन् २०२४ नोभेम्बरसम्म कायम रहनेछ।

श्रीलङ्का टाट पल्टने अवस्थामा पुगेको छ। आयात र आपूर्ति हुन नसकेकाले त्यहाँ खानेकुरा, इन्धन र अन्य आधारभूत वस्तुको चरम अभाव छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक सहायता जुटाउने प्रयासका लागि छलफल अघि बढाउन पनि यो देशलाई एउटा स्थिर सरकारको आवश्यकता छ।

यस्ताे छ संसद्‌को अङ्कगणित

राष्ट्रपतीय निर्वाचनमा विक्रमसिङ्घ, अलाहपेरुम र वामपन्थी न्याश्नल पिल्स पावर पार्टीका नेता अनुरा कुमार दिशानायकबीच त्रिपक्षीय प्रतिस्पर्धा हुन लागेको छ।

श्रीलङ्काको राष्ट्रपति चयनको निर्वाचनमा २२५ सांसदले मतदान दिन पाउँछन्। आधाभन्दा बढी सांसदको मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ।

गोटाबय राजपक्षको सरकार र दुई दशकसम्म देशको नेतृत्व लिएको राजपक्ष परिवारलाई देशको वर्तमान आर्थिक सङ्कटका लागि दोषी मानिएको छ।

विक्रमसिङ्घसहित श्रीलङ्काको राजनीतिक नेतृत्वको राजीनामा माग गरिरहेका प्रदर्शनकारीहरूको भिड सरकारी भवनहरूमा प्रवेश गरेर कब्जा गर्न थालेपछि गत साता गोटाबय माल्दिभ्स भागेका थिए।



प्रतिक्रिया दिनुहोस !