१ जेष्ठ २०८१, मंगलबार

सरकार डाक्दै मिटर ब्याज पीडित किसान

प्रकाशित मिति :  24 August, 2022 1:52 pm


काठमाडौं । नवलपरासी जिल्ला सुस्ता वडा नम्बर ५ का बाबुराम चमारको समूह मिटर ब्याजबाट पीडित भएर सडकमा धर्ना बसेका आज २१ दिन पूरा भएको छ । शरीमा एक सरो कपडा, फुटेका कुर्कुच्चा र भोको पेटमा धर्ना बस्दै गर्दा बिरामी पर्न लागेका उनी माइतीघरको कालोपत्रे सडकमा लम्पसार परेर सुतेका छन् ।

साहु भनेर चिनिने रोहित प्रसाद केवटबाट दुई वर्ष अघि आफ्नो जमिन धितो राखेर दुई लाख रुपैयाँ लिएका चमारको हातमा अहिले करिब १० लाखको तमसुक परेको छ । आफूले लिदै नलिएको ऋण आफ्नो थाप्लोमा पर्दा उनको निद्रा हराएको छ ।

उनीसहित दर्जनौ पीडित काठमाडौंमा आएर मिटरब्याजी विरुद्ध धर्ना बस्ने निधो गरेका हुन् । गाउँबाट काठमाडौं आएपछि आफ्नो समस्याको समाधान हुन्छ कि भन्ने उनीको आश निराशामा परिवर्तन भएको छ । चमारले गहभरि आशु निकाल्दै भने, “काठमाडौंमा त ठूलाठूला नेताहरु छन् भन्रे कुरा गाउँमा हुदाँ थाहा पाएका थियौँ । त्यै साहुले यहाँको नेतालाई समेत किनेछ क्या हो ?”

न्याय पाइने आशमा साना छोरा छोरी गाउँमै छोडेर चमार दम्पती काठमाडौं आएका हुन् । “पैसा नदिए साहुले ज्यान मार्ने समेत धम्की दिन्छ, दिउ भने कहाँबाट दिने आफूलाई हातमुख जोड्ने समस्या भएको बेला,“ चमारले भने ।

नवलपरासीकी लिलौति हर्जनको पिडा पनि उस्तै छ । उनको २१ कठ्ठा जमिन धितो राखेरे विष्णु चापागाईसँग आठ लाख रुपैँया ऋण लिइन् । तर आज दुई वर्षपछि उनको थाप्लोमा आठ लाखको दोब्बर १६ लाख बराबरको तमसुक उनको हातमा आएको छ । उनले भनिन्, “काठमाडौं आएको आज २२ दिन भयो न त राम्रोसँग खाना नै पाएका छौँ । बारीमा टेन्ट लगाएर यो बर्खाको बखत रुझ्दै सुत्नु पर्छ । यस्तो बिजोग देखेर पनि सरकार किन मौन छ ।”

अर्का पीडित कैलालीका महात्म चमारले पनि उस्तै ब्यथा लिएर काठमाडौं आएका छन् । उनी पनि काठमाडौं आएको आज २१ दिन भएको छ । उनले भने, “सुजित कुमार गुप्ता सँग मैले दुई वर्ष अघि २४ कठ्ठा जग्गा धितो राखेर दुई वर्ष भित्र बुझाउँछु भनेर पाँच लाख ऋण लिएको थिए । दुई वर्ष बित्दा आज उसले १० लाख ८५ हजारको तमसुक बनाएर हातमा थमाएको छ । स्थानीय सरकारसँग हारगुहार गर्न जादाँ समस्या समाधान भएन।”

यहाँ धर्ना बस्ने पीडितले माइतिघरको सडक ढाकिएको छ । एउटै प्रकृतिको समस्याले चाडपर्वहरु नजिकदैँ गर्दा उनीहरुलाई चाडपर्वको कुनै रौनक छैन मात्र यो चिन्ता छ कि आफ्नो जग्गा कसरी फिर्ता लिने त्यो ऋण कसरी तिर्ने हो भनेर ।

राज्यले किसानको स्तर उठाउनका लागि भनेर बैंकलाई तोकेर कृषि कर्जा अनिवार्य प्रवाह गर्नपर्ने प्रावधान छ । तर, यी किसानहरुको कृषि विकास बैंकहरु जस्ता ठूला ठूला बैँकहरु धनी, पहुँच भएको मान्छेको बैंक रहेछ भन्ने बुझाइ छ । कर्जा लिन प्रयास गरेपनि बैंकले साना किसानले कर्जा पाउनै मुस्किल हुने उनीहरुको अनुभव छ ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारले सरकारले किसान, गरिब, र दुखी जनताको लागि नभई पहुँच भएका र ठूला मान्छेको लागि रहेको बताएका छन् । उनले भने, “आज पिडितहरु काठमाडौं आएर धर्ना बसेको २१ दिन भएको छ । तर यहाँभन्दा थोरै पर सिहंदरबार छ खोइ त त्यहाँ बसेकाले किसानको पिर मर्का बुझेको ?”

अभयान सम्बद्ध संस्थाहरूकाे तर्फबाट एक्यवद्धता व्यक्त गर्न माइतिघर मण्डला पुगेका अधिकारीले मिटर ब्याजबाट पिडित भएका किसानको आन्दोलनमा साथ दिने बताए । उनले आफू किसानको हकहितमा हरेक समय दरिलो आवाज बनेर प्रस्तुत हुने र उनीहरुले न्याय नपाउने बेलासम्म सम्बन्धित सरोकारहरुको ढोका ढकढक्याउन जाने बताएका छन् ।

यो दास्रो चरणको आन्दोलन हो । पहिलो चरणको आन्दोलनमा भएका सहमतिहरु पुरा नभएपछि उनीहरु पुन काठमाडौं आएर धर्ना सुरु गरेका हुन । विभिन्र जिल्लाबाट करिब ७५ जनाको घरजग्गा लिलाम हुने भएपछि उनीहरु काठमाडौं आएका हुन् । आन्दोलन सुरु भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले गृह मन्त्री, सशस्त्र, र नेपाल प्रहरीलाई उक्त समस्यको समाधान गर्न निर्देशन दिएका थिए ।

टोलीले कार्यदल गठन गरे लगतै साउन २८ गते गृह मन्त्रालयले पत्रचार गर्दै भदौ ५ गतेभित्र आफ्नो जिल्ला प्रशसन कार्यालयमा उजुरी दिन आह्वान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !