१६ आश्विन २०७९, आइतबार

(अ) नियन्त्रित सेयर बजार ! 

प्रकाशित मिति :  5 September, 2022 12:40 pm


अम्बिका शर्मा

सेयर बजार अस्थिर बनेको एक वर्ष बितेको छ । जेठ २०७८ मा बैंक तथा वित्तीय संस्थाहरूले लघुवित्तको सेयरमा लगानी गर्न नेनेपाल राष्ट्र बैंक बन्देज लगाएसँगै अस्थिरताको बाटोमा हिँडेको सेयर बजार अझै सामान्य अवस्थामा फर्कने लक्षण देखिएको छैन । राष्ट्र बैंकको अडान र लगानीकर्ता हतोत्साहित हुँदा समग्र सेयर बजार प्रभावित बनेको छ । 

काठमाडौं केन्द्रित रहेको सेयर बजार पछिल्लो दुई वर्ष यता नेपालसहित देशबाहिर पनि फैलिएको छ । नेपाली लगानीकर्ताहरू, देश र विदेशबाट कारोबार गर्न थालेको अवस्था छ । सेयर बजार थप व्यवस्थित गरिनु पर्ने वर्तमान अवस्थामा नियामक निकाय गम्भीर बन्न सकेको छैन भने पुराना लगानीकर्तासमेत आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेका छन् । ठूला लगानीकर्ता पनि अर्बाैंको सम्पत्ति गुमाएर सडकमा आउनु परेको गुनासो गर्दै आएका छन् । राष्ट्र बैंकको नीति सेयर बजार अस्थिरतको प्रमुख कारणको रूपमा रहेको लगानीकर्ताको ठम्याइ छ ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक–वित्तीय संस्थाहरूले खरिद गरेको सेयर एक वर्षपछि मात्रै बेच्न पाउने र त्यो पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशतमात्रै सेयर बेच्नपाउने निर्देशन दियो । यसरी बढ्दो बजारमा पहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरिद गर्न र अल्पकालीन कारोबार गर्न बन्देज लगाएसँगै बजार प्रभावित हुनथालेको लगानीकर्ता दुर्गा तिवारी बताउँछिन् । “बैंक तथा वित्तीय संस्थासँग भएको लघुवित्तको सेयर बेच्नपर्ने बाध्यकारी नियम पनि बढ्दो बजारमै ल्याइयो । यसरी राष्ट्र बैंकले ल्याएका हरेक नीति–नियम बजारलाई प्रत्यक्ष प्रभावपार्ने खालका भए,” तिवारीले भने। 

धितोपत्र बोर्डले २०७८ असार १ गते वर्तमान वित्तीय क्षमता मूल्यांकनका आधारमा लगानी गर्न जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गर्‍यो । योसँगै बजार पुनः तरंगित बन्यो । बोर्डले नामै तोकेर निफ्रा, चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीको सेयरमा लगानी गर्न उच्चजोखिम रहेको भनी विज्ञप्ति नै निकालेको थियो । बोर्डले विज्ञप्ति निकालेको भोलिपल्ट रहेको नेप्से परिसूचक ५२ अंकले घटेर २९६९.७२ अंकमा झरेको थियो । १ गते सूचक ३०२२.११ अंकमा थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम चार करोड रुपैयाँ र समग्र वित्ताीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गर्‍यो। उक्त नियम लागू गरेसँगै १२ करोडभन्दा बढी ऋण लिएका लगानीकर्ताहरूले बाध्य भएर सेयर बेच्नुपर्ने अवस्था आएको गुनासोे छ।

नियामक निकाय नै नयाँ र सोझा लगानीकर्ताको नाममा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर जाँदा लगानीकर्ता आत्तिएर बिक्री चाप बढ्दा बजारमा गिरावट आएको ठूला लगानीकर्ता छोटेलाल रौनियारको भनाइ छ । “सेयर बजारलाई नियमन गर्ने निकायले नै लगानी नगर भनी कम्पनीको नामै तोकेर सूचना निकाल्नु आपत्तिजनक थियो, यसको प्रभाव स्वरूप बजार पुनः अस्थिर बन्दै गयो,” रौनियारले भने । 

साउन लागेपछि बजार पुनः सम्हालिन खोजिरहेको थियो । नेप्सेको ग्राफ हालसम्मकै उच्च अंकमा पुग्दै गर्दा नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/0७९ मौद्रिक नीति ल्यायो । राष्ट्र बैंकले २०७८ साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिसँगै मार्जिन प्रकृतिको सेयर धितो कर्जामा कडाइ ग-यो जसले बजारमा उत्पन्न भएको ठूलो हलचल अहिलेसम्म शान्त बन्न सकेको छैन । 

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम चार करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गर्‍यो । उक्त नियम लागू गरेसँगै १२ करोडभन्दा बढी ऋण लिएका लगानीकर्ताहरूले बाध्य भएर सेयर बेच्नुपर्ने अवस्था आएको गुनासोे छ । समय–सीमा नै नतोकी ऋणको सीमा घटाउन लगाउँदा सेयरको आपूर्र्ति बढेको र बजार उच्च अंकले खस्केको सरोकारवाला बताउँछन्। 

मौद्रिक नीतिसँगै ४/१२ को घनचक्करमा फसेको सेयर बजारको अस्थिरतालाई स्थिरतातर्फ ल्याउने ठोस पहलकदमी भने अझै हुन सकेको छैन । बजारको यस्तो अवस्थामा धितोपत्र बोर्डले ध्यान दिन नसकेको पूर्वगभर्नर चिरञ्जीवी नेपालको आरोप छ । “केन्द्रीय बैंकले आफ्ना बैंक तथा वित्तीय क्षेत्रहरू मजबुत बनाउन नीति–नियमहरू ल्याउने गर्दछ, यस्ता नीति नियम ल्याउँदा कहिले सेयर बजारलाई राम्रो हुन्छ कहिले नराम्रो हुन्छ,” उनले भने, “नियामकको नाताले लगानीकर्ता सुरक्षित हुनका लागि ४÷१२ बाहेक अर्को के हुनसक्छ भनेर केन्द्रीय बैंकलाई भन्न सक्नु पर्‍यो ।”

बजारको स्थिरता पर्खिरहेका लगानीकर्ताले राष्ट्र बैंकको त्रैमासिक समीक्षा पर्खेका थिए । तर न त्रैमासिक समीक्षामा, न त अद्र्ध–वार्षिक समीक्षामा नै केन्द्रीय बैंकले यो विषय सम्बोधन ग-यो । यसबीच सेयर बजारको गिरावट निरन्तर नै चलिरह्यो । लगानीकर्ताहरू संगठित नै भएर नियामक निकाय र राष्ट्र बैंकको ध्यानाकर्षण गराउन सुरु गरे । 

बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय भएको हुनाले अन्य कुनै क्षेत्रलाई हेरेर भन्दा पनि बैंक तथा वित्तीय क्षेत्रको अवस्थालाई हेरेर मौद्रिक नीति ल्याउने गरेको गर्भनर महाप्रसाद अधिकारीले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि हट्ने संकेत देखिँदैन भने लगानीकर्ता पनि निरन्तर सरकार र नियामकलाई यस विषयमा सचेत बनाउदै एक वर्ष विताइसकेका छन् । मौद्रिक नीति आएपछि भदौ २ गते ३२ सय अंक पार गरेर हालसम्मकै उच्च अंकमा पुगेको नेप्से परिसूचक ३ गतेदेखि घट्न सुरु गर्‍यो ।

सेयर बजार निरन्तर घट्नुमा अर्को सहयोगी बन्यो निक्षेपको ब्याजदर वृद्धि । सेयर धितो कर्जामा कडाइको मारमा परेका लगानीकर्ता असोजमा बैंकले निक्षेपको ब्याजदर वृद्धि गरेपछि सेयर थला परेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् । यसै क्रममा केही बैंकहरूले निक्षेपको व्याजदर ११ प्रतिशतसम्म पु¥याए । लगत्तै राष्ट्र बैंकले यसअघि तोकिएको ब्याजदरमा १० प्रतिशतभन्दा माथि ब्याजदर बढाउन नपाइने प्रावधान ल्यायो । यसपछि बैंकहरूले पुनः १० प्रतिशतमुनि रहेर नयाँ ब्याजदर सार्वजनिक गरे । “तर, यसबाट बैंकिङ प्रणालीमा तरलता अभाव रहेको प्रष्ट बन्यो जसले गर्दा पनि सेयर बजार प्रभावित बन्यो, लगानीकर्ता ‘प्यानिक’ बने र बिक्रीको दबाब बढ्यो,” अर्यालको तर्क छ । 

निरन्तर ओरालो लागेको पुँजीबजारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषणले सेयर बजार अझै ओरालो लाग्न मद्दत पुगेको सेयर विश्लेषकहरू बताउँछन् । २०७८ मंसिरमा नेकपा (माओवादी केन्द्र)को महाधिवेशन उद्घाटनका क्रममा प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादन क्षेत्रमा हुन छाडेर पुँजीबजारमा लगानी हुनु ‘साम्राज्यवादको विकसितरूप’ भएको बताएका थिए । उनले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषय पार्टीको दस्तावेजमा नै समावेश गरेका थिए । प्रचण्डको अभिव्यक्तिपछिको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ अंकमा झरेको थियो ।

मौद्रिक नीतिसँगै ४/१२ को घनचक्करमा फसेको सेयर बजारको अस्थिरतालाई स्थिरतातर्फ ल्याउने ठोस पहलकदमी भने अझै हुन सकेको छैन।

सेयर बजारमा उथलपुथलको अवस्थाले यसपछि पनि निरन्तरता पायो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनको ९०प्रतिशतमात्रै कर्जा लगानी गर्न पाउने नीति लियो । यसले पनि अप्रत्यक्ष रूपमा सेयरबजारको अस्थिरतालाई मलजल गरेको विश्लेषण गरिन्छ । बैंक/वित्तीय संस्थाहरूको ‘रिजर्भ’मा रहेको पैसा र सेयर पुँजीलाई कर्जा प्रवाह गर्दा चलाउन नमिल्ने नीति लिएसँगै अर्बौं रकम ‘फ्रिज’ भएर बस्दा पनि सेयर बजार नकरात्मक प्रभाव परेको पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध–वार्षिक समीक्षामार्फत सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिमभार बढायो । यसअघि १०० प्रतिशत रहेको जोखिमभारलाई १५० प्रतिशत बनाइएको छ । यसरी जोखिमभार बढ्दा बैंक वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह गर्दा बढी ‘प्रोभिजनिङ’ गर्नुपर्ने हुनाले पहिले बोलाएरै सेयर धितोमा कर्जा दिने बैंक तथा वित्तीय संस्थाले कर्जा दिनै छोडे, जसले गर्दा पनि बजार ओरालो यात्रा अझै निरन्तर बनेको पोखरेलको भनाइ छ । 

बजार अस्थिर बन्न थालेको पछिल्लो एक वर्ष र थप प्रभावित बनेको १०महिनायता राष्ट्र बैंकले ल्याएका नीतिले बजार सुधारभन्दा थप गिरावट आएको तथ्यांकले देखाउँछ । सेयर बजार पनि अर्थतन्त्रको एउटा हिस्सा भएको हुँदा राष्ट्रबैंकले ल्याउने नीतिले प्रत्यक्ष असर पार्ने देखिन्छ । नेपाल राष्ट्र बैंक भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहँदैन । यस विषयमा टक्सारले कुरा गर्न खोज्दा नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बोल्न नमिल्ने बताए । प्रवक्ता गुणाकर भट्ट भने सम्पर्कमै आउन चाहेनन् । 

सेयर बजारले २७ वर्षमा यता ३ वटा वियरिस ट्रेन्ड पार गरिसकेको छ भने गतवर्ष भदौयता पनि बजार वियरिस ट्रेन्डमै चलिरहेको छ । विगतदेखिको सेयर बजारको यात्रा हेर्दा हरेक बुल र वियरिस ट्रेन्डको अवधि औसत ४ वर्ष रहेको भन्दैै बजार अहिले नै वियरिस ट्रेन्डमा नगएको सेयर बजारका विज्ञहरू बताउँदै आएका थिए । तर, गतवर्ष भदौमा ३२ सय अंकको उच्चतम विन्दु छोएको नेप्से परिसूचक १० महिनाको अवधिमा १९ सय अंकको हाराहारीमा झरेको छ । 

अहिले नेप्से परिसूचक १० महिना अगाडि छोएको नयाँ उचाइ ३२ सय अंकबाट ३६ प्रतिशत घटिसकेको छ । पछिल्लो समय सेयर बजारसँग सम्बन्धित अन्य निकायसँग बोर्डले छलफल गरिरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसी बताउँछन् । “बजारको सुधारका लागि सेबोन अध्यक्ष, गर्भनर र अर्थमन्त्रीले ४ सदस्य सुझाव समिति गठन गर्नुभएको छ,” उनले भने, “केही अध्ययन अनुसन्धान गरेर कामहरू अगाडि बढाउने कुरा भएको छ, पक्कै पनि केही न केही सकरात्मक नतिजा आउला ।” 

वित्तीय साक्षरतामा कमी, जोखिम बढ्दो

सेयर बजारमा उताव–चढाव आइरहँदा ठूला लगानीकर्ता मात्र हैन मध्यम र साना लगानीकर्ताको पनि पोर्टफोलियो प्रभावित बन्यो । यद्यपि घाटा बेहोरिरहेका नवप्रवेशी लगानीकर्ताले पनि सेयर बजार भनेको उच्च जोखिमसँगै उच्चप्रतिफलको क्षेत्र हो भन्ने कुरा बुझन् भने पछिल्लो सेयर बजारको प्रसंगले भूमिका खेलेको देखिन्छ । 

सेयर बजारबाट मैले यति कमाएँ यति गुमाएँ, अर्कों हप्ता फलानो कम्पनीको सेयर मूल्य यति पुग्छ, फलानोले डाटा अध्ययन गरेर भनेको यो कम्पनीको मूल्य यति पुग्छ आजै किनिहाल्नुस् अथवा फलानो कम्पनीको त हकप्रद आउँदैछ भन्ने खालका चिया पसलका गफ ठ्याक्कै बन्द भए । १० महिनादेखि निरन्तर ओरालो लाग्दै गएको सेयर बजारले सबै अनुमान, विश्लेषण र तर्क–वितर्कलाई माथ खुवाएको छ । 

वित्तीय साक्षरताको कमी हुँदा लहलहैमा पनि सेयर बजार प्रवेश गर्नेको लामो लर्को नै छ । तर यो लर्कोले सेयर बजारबारे बुझिरहँदा आफ्नो सम्पूर्ण सम्पत्ति नै गुमाउनु परेको पनि देखिन्छ । यस्तै एक हुन् काठमाडौं चावहिलका राजेन्द्र पोखरेल (नाम परिवर्तित)। 

वित्तीय साक्षरताको कमी हुँदा लहलहैमा पनि सेयर बजार प्रवेश गर्नेको लामो लर्को नै छ । तर यो लर्कोले सेयर बजारबारे बुझिरहँदा आफ्नो सम्पूर्ण सम्पत्ति नै गुमाउनु परेको पनि देखिन्छ ।

पोखरेल कोरोना महामारीअघि पर्यटन व्यवसायमा सञ्चालन गर्दै आएका थिए । उनी आफ्नो व्यवसायबाट सन्तुष्ट नै थिए, कोरोना माहामारीका कारण पर्यटन व्यवसाय चौपट बन्यो । साथीहरूले सेयरमा लगानी गर्न सुझाए । बजारको बारेमा थोरै मात्र बुझेका पोखरेलले साथीको सहयोगमा ६० लाख रुपैयाँ लगानी गरे । अहिले उनको पोर्टफोलियो ३० लाखमा झरेको छ । लगानी फसेपछि व्यक्तिगत आर्थिक अव्यवस्थालाई सुधार गर्न यतिबेला पोखरेलजस्ता लगानीकर्तालाई हम्मेहम्मे परिरहेको छ । 

१० महिनामा ३६ प्रतिशतले घट्यो, गुम्यो १३ खर्ब 

विगत १० महिनायता सेयर मापक सूचक नेप्से परिसूचक ३६ प्रतिशतले घटेको छ । यसबीच पुँजीबजारको कुलपुँजी १३ खर्ब रुपैयाँले घटेको छ भने कारोबारगत आधारमा लगानीकर्ताले पनि अर्बौं रकम गुमाएका छन् । गतवर्ष भदौ २ गते ३२ सय अंकपार गरेको नेप्से परिसूचक ०७८ साल जेठ महिनाको अन्तिम सातासम्ममा लगभग २००० अंकको हाराहारीमा झरेको छ । हालसम्मकै सर्वाधिक अंकको स्तरबाट ३६ प्रतिशतको हाराहारीमा घटेको बजारमा अधिकांश कम्पनीहरूको मूल्य ५० देखि ६० प्रतिशतसम्म घटेका छन् । 

एक वर्षअघि भदौ २ गते सेयर बजार ३२०० माथि हुँदा ४४ खर्बको हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३१ खर्बमा झरेको छ । यसरी यो १० महिनाको अवधिमा बजारले १३ खर्ब भन्दा बढी सम्पत्ति गुमाइसकेको देखिन्छ । यसैगरी नेप्से उच्चअंकमा पुग्दा भदौ २ गते २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएकामा अहिले औसत एक अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

आन्दोलनमा लगानीकर्ता

गत जेठ २३ गते धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई १९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएर साना लगानीकर्ताहरू आन्दोलमा उत्रिएका छन् । तिलक कोइरालाको नेतृत्वमा पुँजीबजार सुधार र विकासका लागि गठिन संघर्ष समितिले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । 

सरकारले साढे ३ वर्षअघि नै गरिसक्छु भनेका कामहरू नहुँदा पुँजीबजार गम्भीर संकटमा परेको ठहर गर्दै कोइरालाले असार १ गतेदेखि आमरण अनसन बस्ने घोषणासमेत गरेका छन् । समितिले वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई एक अर्ब चुक्तापुँजी कायम गरी तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरको शाखा विस्तार र उनीहरूको टीएमएस सञ्चालन गर्न तत्काल स्वीकृति दिनुपर्ने, गैरआवासीय नेपालीलाई तत्काल पुँजीबजारमा लगानी गर्न स्वीकृत दिनुपर्ने सार्वजनिक ओहदामा बसेका व्यक्तिले सेयर बजारकाबारे कुनै पनि अभिव्यक्ति दिन नपाइनेलगायत १९ बुँदै माग राखेर शक्ति प्रदर्शन (र्‍याली), नेप्से–धितोपत्र बोर्ड घेराउ, संसद घेराउलगातका कार्यक्रम गरिरहेका छन्।   

(टक्सार म्यागजिन, असार २०७९, पृष्ठ १४–१७) 



प्रतिक्रिया दिनुहोस !