७ जेष्ठ २०८१, सोमबार

धनगढी पुगेर अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

प्रकाशित मिति :  16 September, 2022 12:46 pm


काठमाडौ । चिकित्सा क्षेत्रको सुधारका २० औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

२० औं पटक अनसन सुरु गरेका केसीलाई उपचारको लागि अस्पताल भर्ना गरिए पनि उनले औषधी दिन नमान्दा स्वास्थ्य झन जटिल बन्दै गएको केसीका सहयोगी डा.अमृत जैसीले जानकारी दिए ।

धनगढी स्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा २० औं पटक अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अहिले अस्पतालले भेटघाटमा पनि रोक लगाएको छ । केसीको ‘ब्लड प्रेसर पनि निकै घटेर ९०र६० पुगेको छ भने मुटुको चाल पनि घट्दो क्रममा रहेको डा. जैसीले बताए ।

डाक्टर केसीले आफू तीन करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधि लिन मानिरहेका छैनन् । ‘उहाँले तीन करोड नेपाली जनताका लागि उठाएका माग सरकारले सम्बोधन नगरेसम्म औषधि लिन्न भन्नुभएको छ,’ जैसीले भने ।

केसी धनगढी पुगेर अनशन बसेको पाँच दिन पुग्दा समेत सरकार पक्षबाट कुनै सुनवाइ भएको छैन ।



प्रतिक्रिया दिनुहोस !