१५ बैशाख २०८१, शनिबार

डा.दोस्ती रेग्मीको उपन्यास ‘पारमिता’ सार्वजनिक

प्रकाशित मिति :  18 September, 2022 3:12 pm


काठमाडौं । फरक कोणबाट लेखिएको चिकित्सक दोस्ती रेग्मीको पहिलो उपन्यास ‘पारमिता’ सार्वजनिक भएको छ ।

दियालो फुडल्याण्ड बसुन्धरामा आयोजित एक कार्यक्रममा लेखक डा.रेग्मी,प्रकाशक पुष्पराज पौडेल, समालोचक शंकर तिवारी तथा आख्यानकार शैलेन्द्र अधिकारीद्धारा सार्वजनिक गरिएको थियो ।

मोक्ष जस्तो जोखिमपूर्ण विषयमा हात हालेर पनि त्यसमा अब्बल सृजना गर्न उपन्यासकार सफल भएको समालोचक तिवारीले बताए ।

‘उपन्यासमा सबै पात्रहरुलाई न्याय गरिएको छ’ तिवारीले भने ‘सबै पात्रहरुलाई न्याय गरेर सकरात्मकता तर्फ उन्मुख बनाउनुभएकोले उपन्यास उत्कृष्ट छ, मैले यसलाई दोहोर्याएर पढ्नु पर्ने पुस्तकको सूचिमा राखेको छु ।’

उक्त उपन्यासको उठान एउटा विद्यार्थी जसको कलेज जीवनको हाइकिङबाट सुरु भएको प्रेम कथा बिस्तारै बिस्तारै जीवन र दर्शनकोे गहिराइमा पुगेको छ । हरेक खण्डमा नयाँपनसँगै लेखकले आफुलाइ ज्ञान भएका हरेक बिषयवस्तु समेट्ने कोशिस गरेका छन् ।
त्यस्तै उपन्यास लेखकको पहिलो कृति हो भनेर अनुमान लगाउन नसकिने आख्यानकार अधिकारीले बताए ।

उपन्यासको समिक्षा गर्दै आख्यानकार अधिकारीले भने ‘पहिलो कृति यति परिष्कृत भाषामा लेखिएको सायदै होला, एउटा व्यस्त चिकित्सकले दर्शनको गम्भिर अध्ययन गरेर त्यो दर्शनलाई एकदम मिहिन ढंगले आम मानिसले बुझ्ने गरेर उपन्यासमा प्रस्तुत गर्ने कला एकदमै प्रशंसनिय रहेको छ ।’

प्रत्येक खण्डमा लेखकको फरक परिचय पाइन्छ,कुनै खण्ड पढ्दा लेखक डाक्टर हुन भन्ने लाग्छ, कुनैमा योग साधक हुन् कि, कुनै खण्डमा पदयात्री।

उपन्यास पढ्दा यस्तो लाग्छ कि सुरु सुरुमा त लेखक कहि कतै आफै नशाको कुलतमा त फसेका त छैनन् भन्ने लाग्छ । उपन्यासमा पात्रलाई यति सरल तरिकाले प्रस्तुत गरिएको छ कि मानौ असम्भव केही छैन ।

जिवन बगेको खोला जस्तै हो, जति सुकै कठिनाइ होस, जीवन अगाडि बढ्नु पर्छ, जीवनको हरेक पाइलामा नया मोड हुन्छ यो कुरा बुझ्न सके पारमित भैइन्छ भन्ने सन्देश दिन डा. रेग्मीकाे पारमिता सफल भएको छ ।

लेखकले उक्त उपन्यासलाई सकरात्मक विन्दुमा टुंग्याउन सफल भएका छन् । शिखा बुक्सले प्रकाशन गरेको उक्त कृति पाठकले सहजै पढ्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !