२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा

प्रकाशित मिति :  18 September, 2022 4:38 pm


राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ । आइतबार सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली चोलेन्द्रको अनुगमनको लागि सरकारी निवासमा पुगेको आयोगले जनाएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार सर्वोच्च जाने तयारी गरिरहँदा आफ्नो निवास अगाडि दर्जनौं सुरक्षाकर्मी तैनाथ गरेर आफूलाई ‘नजरबन्द’ जस्तै अवस्थामा राखिएको उनले बताएका थिए ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर, सरकारले भने उनलाई काममा फर्किन नदिन सर्वोच्च परिसर र निवास आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । जबरालाई अघोषित नजरबन्दमा राखेर माथिको आदेशमा प्रहरीले निवास ओहोरदोहोर गर्ने हरेक गाडीमा निगरानी बढाएको छ ।

यस लगत्तै आयोगको टोली उनको निवासमा पुगेर वस्तुस्थितिबारे अनुगमन गरेको छ । आयोगको कार्यालय स्रोतका अनुसार आयोगको टोलीले यसबारे जबरासँग छलफलसमेत गरेको स्रोतले बतायो ।



प्रतिक्रिया दिनुहोस !