१४ बैशाख २०८१, शुक्रबार

नेपाललाई जापानले १४ अर्ब ऋण र २ अर्ब अनुदान दिदैँ

प्रकाशित मिति :  22 September, 2022 11:03 am


काठमाडौं । जापान सरकारले नेपाललाई १६अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।

पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५।६० करोड करिब २ अर्ब अनुदान सहायता बराबरको सम्झौता भएको हो । सोही अवसरमा शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९।०१ करोड (करिब रु १४।२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वार्षिक ०।०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका हुन् । अनुदान तथा ऋण सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा अर्थ सचिव पुष्करले यी दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिंचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनीयता बढाउन र प्रशारण चुहावट कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । नेपालको सामाजिक–आर्थिक एवम् मानव संसाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको उनले प्रसंशा समेत गरेका थिए।



प्रतिक्रिया दिनुहोस !