४ बैशाख २०८१, मंगलबार

कृषि ज्ञान केन्द्र रोल्पाको लापर्बाहीले किसानकाे सवा ३ करोड रूपैयाँ भुक्तानी भएन

प्रकाशित मिति :  21 September, 2022 6:07 pm


रोल्पा । कृषि ज्ञान केन्द्र रोल्पाको लापर्बाहीका कारण रोल्पाका कृषकको बिचल्ली भएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतका कार्यक्रम अन्तर्गतको ३ करोड २५ लाख ५९ हजार रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।

कृषक समूहले ज्ञान केन्द्रको लापर्बाहीका कारण आफूहरूले समयमा भुक्तानी नपाएको गुनासो गरेका छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम लुंग्री-४ ठूलो नम्जाका अध्यक्ष वीरबल खड्काले ज्ञान केन्द्रको लापर्बाहीका कारण आफूहरूले रकम नपाएको गुनासो गरे ।

“हामीले असार २२/२३ गते नै सबै बिल भरर्पाइ बुझाए पनि भुक्तानी पाएनौं, यो केन्द्रले बदमासी गर्‍यो । स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत ६ वटा समूह र अन्य ब्लक समूहले रकम पाएका छैनन्,” उनले भने ।

किसानहरूले प्रदेश मन्त्रालय मुख्यमन्त्री कार्यालय लगायतका ठाउँमा समेत गुहार गरेका छन् । अध्यक्ष खड्काले भने, “हाम्रो त विजोग भयो हामीले मुख्यमन्त्री कार्यालयदेखि सबै ठाउँमा आग्रह गरिसकेका छौं तर सुनुवाई भएन, अब हामी सबै किसान उठेर कार्यालयमा घेराबन्दी गर्नुपर्ने बाध्यता आयो ।”

कृषि ज्ञान केन्द्र राेल्पाका यसअघिका प्रमुख राहुल पाण्डेयको सुरुवा भइसकेको छ । पाण्डेयको बदमासीका कारण आफूहरूले दुःख पाएको किसान समूहको गुनासो छ ।

नयाँ हाकिम हैरान

पाण्डेयको सरुवा भएपछि नयाँ प्रमुख पुगेका छन् अरविन्दमणि त्रिपाठी । असोज ४ गते हाजिर भएका त्रिपाठी यो जानकारी पाएपछि हैरानीमा छन् ।

लुम्बिनी सञ्चारसँगको कुराकानीमा भने, “सिस्टममा काम गरिदिएको भए यो अवस्था आउने नै थिएन । म धेरै के भनाैं तर कम्तिमा सिम्टम अनुसार काम गरिदिएको भए किसानले दुःख पाउने थिएनन् ।”

उनका अनुसार रोल्पामा कृषिका सबै कार्यक्रम गरेर ३ करोड २५ लाख ६० हजार रुपैयाँ बाँकी छ । उनले भने,“यो वा त्यो भनेर आरोप नलगाउँ तर सिस्टममा काम नगरिदिएकाले यो हैरानी भएको हो ।”

रकम फिर्ता गइसकेकाले कृषि ज्ञान केन्द्र रोल्पाले केही गर्न नसक्ने भएको छ । प्रमुख त्रिपाठीले भने, “जिल्लामा हामीले केही गर्न सक्दैनौं, यो धेरै निकायका कार्यक्रम छन् र माथिबाटै सम्बोधन हुनुपर्छ ।”

भुक्तानी प्रकृया सुरु

लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले भने प्रदेश मातहतका कार्यक्रमको भुक्तानी प्रकृया अगाडि बढाइएको बताएको छ ।

मन्त्रालयका सूचना अधिकारी,शालिकराम गौतमले भने,“ रोल्पासहित ६ जिल्लाको भुक्तानी बाँकी छ र यसका लागि प्रकृया अगाडि बढाइएको छ ।”

अधिकारीले केन्द्रको कार्यक्रम केन्द्रले नै निर्णय गर्ने भन्दै प्रदेश सरकारले भुक्तानीका लागि कागजात अध्ययन गरिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !