१६ बैशाख २०८१, आइतबार

लयमा फर्कंदै पुष्प क्षेत्र

प्रकाशित मिति :  17 October, 2022 6:07 pm


काठमाडौं । कोरोना महामारीका कारण थलिएको पुष्प क्षेत्र पुरानै लयमा फर्कन थालेको छ । नेपालमा पुष्प क्षेत्रको प्रवद्र्धन गर्दै आएको फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) ले यो क्षेत्रले पुरानो लय समाउने क्रममा रहेको बताएको छ ।

हरेक वर्षहरुको तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिन बहादुर तामाङले बताए ।

तिहार लक्षीत गर्दै कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना हुने १५ औँ गोदावारी फुलको प्रतियोगितात्मक प्रदर्शनीको जानकारी दिन साेमबार आयोजना गरिएकाे पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।

तामाङका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारणले फुल उत्पादन घटेको थियो । तर अहिले १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको छ ।

“नेपालमा विशेषगरि फूलहरु तिहार र प्रेम सप्ताहामा बढी माग रहेको छ । बाकीँ महिनाहरुमा त्यति धेरै माग नभएकाले र हाम्रो बजार सानो भएकाले उत्पादकहरु घाटामा जाने सम्भावना बढी छ ।’’ उनले भने ।

“हामीकोमा जति पनि उत्पादनमा प्रयोग हुने मल, विउ र औजारहरु भारतबाट आयात गर्छौ । यस्तो अवस्थामा हामीले उत्पादन गरेको फूल र भारतले उत्पादन गरेको फूलको प्रतिश्प्रधा गर्ने कुरा हुदैँन त्यसकाराण हामीले सरकारसँग बारम्बार भनेका छौँ अग्रीम आयात कर बढाउन पर्यो त्यो गर्दा हाम्रो उत्पादनले प्रतिश्प्रधा गर्न सक्छ,’’ तामाङले थपे ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना गरेको छ । उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्म ५५ वटा प्रदर्शनी कक्षहरु रहने छन्।

गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने भएकाे छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराईने छ।

प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ ।

नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै स्थलबाटै प्रदान गरिने एसाेसिएशनले जनाएकाे छ । 

यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै ८० लाख सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । 

नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ । हाल ४८ जिल्लामा लगभग १७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन । ७३२ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहेको यस व्यवसायमा ६.५ अरव भन्दा बढिको लगानी रहेको छ । 

कोभिड महामारका कारण बिगत दुई बर्ष देखि कोभिड–१९ महामारीका कारण पुष्प ब्यवसाय समस्याग्रष्ट अवस्थामा रहेकोमा २०७८/०८९ मा कोभिड–१९ को असर केहि कम देखिएकोले समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरु केही चलायमान र सुधारउन्मुख हुदा पुष्पको बजारीकरणको क्षेत्रमा पनि सुधार आएको एसोशिएसनले जनाएको छ । यद्यपी कोभिड सुरु हुनु पुर्वको पुष्पको बार्षिक कारोबारको अवस्थामा अझै पनी पुग्न सकेको अवस्था नभएको बताइन्छ ।

आव ०७७/७८ मा बर्षै भरी कोभिड–१९ को कहर रहेका कारण भएको निषेधाज्ञाले गर्दा व्यवसायीक कारोबारमा कमी आई रु. १ अर्व ६३ करोडको मात्र कारोबार भएको थियो । तर बजारिकरणमा सुधार आई अघिल्लो बर्षको बार्षिक कारोबार तुलानामा करिब ३० प्रतिशतले बृद्धि भई रु.२ अर्व ३० करोडको हाराहारीमा कारोबार भएको अध्यक्ष तामाङले बताए।

आव ०७८/७९ मा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात तर्फ रु ९८.६० लाख र आयात तर्फ ३६.०५३५ करोड बराबरको कारोबार भएको छ । 

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५०० भन्दा बढी जनशक्तिहरु रोजगार/आश्रीत रहेकोमा कोभिड–१९ कारण १० प्रतिशत भन्दा बढिले रोजगारी गुमाई हाल ३९ हजार १०० को हाराहारीमा रोजगार रहेको एसोसिएशनको तथ्यांक छ।



प्रतिक्रिया दिनुहोस !