१७ बैशाख २०८१, सोमबार

‘गरी खान देऊ’ भन्दै अटो व्यवसायी सडकमा

प्रकाशित मिति :  8 December, 2022 1:56 pm


काठमाडौं । बिहीबार बिहान ११ बज्न लाग्दा नाडा अटोमोबाइल्स लगायत अन्य संस्थाहरूले ब्यानर लिएर काठमाडौंको माइतीघर ढाके । दुईतर्फी सडक रहेको माइतीघरमा एकतर्फी सडकमा सवारीको चापले जाम भयो भने अर्कोतर्फी सडकमा अटो व्यवसायीहरू शान्तिपूर्ण आन्दोलनमा होमिए ।

उनीहरूको हातमा गरी खान देऊ, ब्याजदर नियन्त्रण गर, जसले कर तिरेको छ उसैलाई पेल्ने हेप्ने, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर, देशमा सरकार त छ ?, मौद्रिक नीति परिमार्जन गर, जस्ता बैँक तथा वित्तीय र नियमनकारी निकायकाे विरोधमा प्ले कार्डहरू थिए । आक्रामक नारासहित भेला भएका व्यवसायीहरूले सरकारले अटो क्षेत्रलाई मार पर्ने खालको नीति बनाएको भन्दै कडा रूपमा आन्दोलनमा उत्रिने समेत चेतावानी दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्र थापाले सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता रहेको बताएका छन् ।

उनले भने, “आयात फुकुवा भए पनि व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन । अटोकर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको व्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नु पर्ने, अटो कर्जा सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने, बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने र लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता हाम्रा मागहरूको अझै सम्बोधन भएको छैन ।’’

यता सरकारले ८ महिना सवारी आयातमा प्रतिबन्ध लगाउँदा अटो व्यवसायमा होमिएका अधिकांश व्यवासायीहरू पलायन हुन बाध्य हुनुपर्ने अवस्था आएकाे व्यवसायीकाे भनाइ छ ।

सरकारले आयात खाेलेर राजश्वमा वृद्धि हुने कुरा सत्य नभएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताएका छन् । “जबसम्म सरकारले सहज रूपमा सवारी बिक्री हुने वातावरण सिर्जना गर्दैन त्यो बेलासम्म यो क्षेत्रबाट सरकारले सोचे जस्तो राज्वश संकल्न गर्न सक्दैन ।’’ उनले भने, “कम्पनीहरूले ८ महिनासम्म गाडीहरू सहज रूपमा बिक्री वितरण गर्न नपाउँदा कति व्यवासायीहरू पलायन भएका छन् भने डिलरहरूले आफूहरूसँग पहिला भएको गाडीहरू बिक्री गर्न सकेका छैनन् ।’’

नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र उप्रेतीले सरकारले ८ महिना सवारी आयातमा लगाएको प्रतिबन्धका कारण अर्थतन्त्रमा नराम्रो असर परेको बताएका छन् । उनले भने, “हाल नेपालमा गाडीहरू बिक्री भएका छैनन् । त्यसको माग पनि छैन । त्यसले गर्दा यसको सिधा असर पार्ने भनेको देशको अर्थतन्त्रमा हो । पछिल्लो ८ महिना हजारौँ मनिसहरूको रोजिरोटी खोसिएको छ । आयात मात्र हुने र गाडी बिक्री नहुने अवस्था आयो भने झन धेरै समय पैसा फ्रिज हुन्छ । सरकारले राजस्व संकलन नघटोस् भन्छ भने व्यापार–व्यवसाय चल्ने वातावरण बनाउन सक्नुपर्छ । आयात खोले पनि सरकारले र राष्ट्र बैंकले गाडी बिक्री गर्ने स्थिति बनाउदैँन भने आयात खोल्नुको फाइदा केही छैन ।’’

सरकारले वैशाख १३ गते विभिन्न १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । चरणबद्ध रूपमा कतिपय वस्तुको आयात खुला गरिएको भए पनि ३०० अमेरिकी डलरभन्दा बढीका मोबाइल, विदेशी मदिरा, ५० हजार डलरभन्दा महँगा डिजल तथा पेट्रोल गाडी र १५० सिसीभन्दा बढीका मोटरसाइकलको आयात प्रतिबन्ध कायम थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पुसदेखि यी वस्तुको पनि प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो ।

सरकारले प्रतिबन्ध खुला गर्ने निर्णय गरे पनि राष्ट्र बैंकले तत्काल यी वस्तुहरूको आयात गर्दा मार्जिन राख्नुपर्ने व्यवस्था नहटाउने संकेत गरेको हो । त्यो भएपछि सरकारलाई दबाब दिनको लागि नाडा अटोमोबाइल्स एशोसिएसनले आज सातै प्रदेशमा शान्तिपूर्ण आन्दोलनको आयोजना गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस !