१२ श्रावण २०८१, शनिबार

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने प्रस्ताव पारित

प्रकाशित मिति :  9 December, 2022 5:40 pm


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

सभाले चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । साधारणसभाले बैकको अधिकृत पुजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने बैंकले जनाएकाे छ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !