१२ श्रावण २०८१, शनिबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता घरघर पुर्‍याइदिने अभियान सञ्चालन

प्रकाशित मिति :  13 December, 2022 6:53 pm


काठमाडाैं । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघर पुर्‍याइदिने अभियान चलाएको छ ।

अभियान सञ्चालन भएदेखि टाढा–टाढाबाट हिँडेरै गाउँपालिका केन्द्र सुलिचौर आएर बैैंकमा लाइन लाग्नु पर्ने बाध्यता हटेको छ ।

सुनिलस्मृति गाउँपालिकामा निर्वाचित भएपछि अध्यक्ष मणिराम बुढाथोकीले विकट ग्रामीण क्षेत्रमा बसोबास गर्ने ज्यष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइदिने अभियान सुरु गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले भने,“ स्थानीय तह शासक होइन, सेवक भन्ने मर्मअनुसार अभियान सञ्चालन गरिएको हो, बैंक सुलिचौरमा केन्द्रित छ । तर मानिसहरु विकट क्षेत्रमा छन् । उनीहरुलाई आउन जान समय लाग्छ । त्यलाई मध्येनजर गरी यस्तो कार्यक्रम ल्याएका हौँ ।”

निर्वाचित भएर आएलगत्तै कार्यपालिका बैठकले गाउँगाउँमा सामाजिक सुरक्षाभत्ता पुर्‍याइदिने निर्णय गरेको थियो । सोही अनुरुप जनप्रतिनिधि र कर्मचारीहरु परिचालन भएको गाउँपालिकाले जनाएको छ ।

अभियान सुरुभएयता वडा नं. १, २, ४ र ८ मा भत्ता वितरण गरिसकिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिए । उनका भनाईमा यो अभियानले आम मानिसलाई स्थानीय सरकारको उपस्थितिको महसुस गराएको छ ।

उनी भन्छन्,“ठूला कार्यक्रम र बजेट चाहिन्छ भन्ने छैन । कर्मचारी र जनप्रतिनिधिहरुमा सेवाभावको भावना आएमा सम्भव हुन्छ ।”

कसरी पुर्‍याइन्छ गाउँ–गाउँ भत्ता ?

गाउँपालिकाले पूर्व योजना अनुरुप कार्यपालिका बैठकबाट गाउँ गाउँ भत्ता वितरणको निर्णय गरेको थियो ।

निर्णयअनुरुप गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि परिचालित भई सुलिचौरमा रहेको बैंकबाट गाउँ गाउँमा भत्ता पुर्‍याउने गरेका छन् ।

हरेक लाभग्राहीसँग सुलिचौरमा रहेको ग्लोबल आइएमई बैंकमा खाता छ । उक्त खातामा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताबापतको रकम जम्मा गरिदिन्छ । त्यसपछि वडामा रहेका वडाध्यक्षको रोहबरमा वडासदस्यहरुले लाभग्राहीको घर घर जान्छन् र हस्ताक्षरित चेक संकलन गर्छन् ।

यसरी संकलित भएको चेक सुलिचौरको बैंकमा जम्मा गरी सम्बन्धित वडा सचिवले भूक्तानी लिन्छन् । वडासचिव आफ्नो वडामा रहेका लाभग्राहीको रकम लिई फेरि गाउँ फर्कन्छन् ।

गाउँपालिकाका अध्यक्ष बुढाथोकी भन्छन्,“बुझेको रकम स्थानीय प्रहरी समेतको सुरक्षामा बैंकको एक जना कर्मचारी, वडा सचिव र वडा अध्यक्ष समेत जिम्मेबार रहन्छन् ।”

यसरी भूक्तानी लिएको रकम सम्बन्धित वडाका गाउँ–गाउँ पुगी लाभग्राहीहरुलाई भेला हुन लगाएर वितरण गरिन्छ ।

गाउँपालिकाका अध्यक्ष बुढाथोकीले चेक संकलन गर्ने, भूक्तानी लिने र फेरी वितरण गर्ने सम्मका कामका लागि आवश्यक पर्ने खर्च तथा साधनको व्यवस्था गाउँपालिकाले नै गर्ने गरेको छ । उनी भन्छन,“यसअघि गाउँपालिका केन्द्रसम्म आउँदा लाभग्राहीहरुको धेरै खर्च हुने गरेको थियो । चार हजार भत्ता पाउँछन् भने दुई हजार त आउँदा जाँदा बाटोमा नै खर्च हुन्थ्यो । त्यो खर्च अहिले बचेको छ ।”

गाउँपालिकाको तथ्याङ्कअनुसार वडा नं. १ मा दुई सय १२ जना, २ मा दुई सय ३७ जना, ४ मा एक सय २३ जना र ८ मा तीन सय ८८ जना जना लाभ ग्राहीले गाउँमै भत्ता पाइसकेका छन् ।

यो अभियान सिंगो गाउँपालिकाका सबै लाभग्राहीमा पुर्‍याउने गाउँपालिकाको योजना छ । अभियानबाट आठ वटै वडाका हरेक लाभग्राहीका लागि सुलिचौर आएर बैंकमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ ।

अहिले हरेक तीन महिनामा एक पटक गाउँपालिकाले भत्ता वितरण गर्ने गरेको छ ।

एउटा वडामा वितरण गर्न तीनदेखि चार दिनसम्म लाग्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बुढाथोकी भन्छन्,“अहिले गाउँ–गाउँमा गएर वितरण गर्ने गरेका छौँ । तर यो अभियानलाई हामी घरघर पुर्‍याउँदै छौँ । सरकारले दिने भत्ता घरमै आउने भयो भने लाभग्राहीले अवस्य स्थानीय सरकारको अपनत्व लिने छन् ।”



प्रतिक्रिया दिनुहोस !