२५ बैशाख २०८१, मंगलबार

प्रदेश ५ मा कोरोना परीक्षण प्रयोगशाला: जडान गरेको मेसिनले राम्रोसँग काम नगर्दा ढिलाई

प्रकाशित मिति :  5 April, 2020 12:12 pm


तयार हुँदै प्रदेश-५ को कोरोना परीक्षण प्रयोगशाला । फोटो : सुमन सापकोटाको फेसबुकबाट

रुपन्देही, २३ चैत ।

प्रदेश-५ मा कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापनामा ढिलाई भएको छ ।

आज विहानैदेखि सञ्चालनमा ल्याउने भनिएपनि प्रयोगशालमा खटिएका सरकारी अधिकारीले राति अबेरसम्म सुरु गर्न सकिन्छ की भनेका  छन् ।

प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले भने,‘आज विहानैदेखि सुरु गर्न खोजिएको तर अलिकति प्राविधिक गडबडी भयो ।’ डा. गिरीका अनुसार अघिल्लो एउटा मेसिनले काम नगरेपछि फेरी अर्को मेसिन ‘ब्याकअप’को लागि लगिएको छ ।  सुरुमै जडान गरिएको ‘बायोलोजिकल सेफ्टी क्याविनेट’ले राम्रो कामसँग नगरेपछि ढिलाई भएको हो । डा.  गिरीले भने,‘ फेरी नयाँ सेफ्टी क्याबिनेट लिएका छौं यसले कत्तिको काम गर्छ प्राविधिक साथीहरु लागिरहनुभएको छ ।’

डा. गिरीले भने,‘आज हामीले राति अबेरसम्म भएपनि सुरु गर्न खोजिरहेका छौं, असाध्यै दबाव भयो । हामी अहिलेपनि यसैमा लागिरहेका छौं । यो प्राविधिक कुरा भयो, हाम्रो क्षमताको कुरा पनि भयो ।’

मेसिन जडानका लागि प्रयोगशालाले आज सेनाको सहयोग लिएको छ । मेसिन गह्रौ भएकाले जडानका लागि सेनाको सहयोग मागेको प्रमुख डा. गिरीको भनाई छ । प्रयोगशालाले आज बेलुकी ५ बजेदेखि नमुना परीक्षण सुरु गर्ने तयारी गरेको थियो ।

तर प्राविधिक समस्या भएपछि गाह्रो देखिएको छ । गिरीले भने,‘ आजै गरौं भन्ने त हो तर प्राविधिक कुरा भयो म यसै भन्न सकिन ।’

प्रदेश-५ का लागि सरकारले केन्द्रबाट विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ ।

सरकारले प्रदेश नं ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला सञ्चालन गर्न लागेको हो । अन्य प्रदेशमा नमुना परीक्षण सुरु भएपनि प्रदेश ५ मा ढिलो भएको छ ।



प्रतिक्रिया दिनुहोस !