१२ श्रावण २०८१, शनिबार

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

प्रकाशित मिति :  19 December, 2022 12:35 pm


धनुषा । धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन् ।

कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले कूल करदातामध्ये ६६ प्रतिशतभन्दा बढीले नियमितरुपमा कर दाखिला नगर्ने गरेको पुष्टि गरे । “यहाँ दर्ता भएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाताले तोकिएको समयमा कर विवरण दाखिला गरिरहेका छैनन्”, उनले भने, “यस तथ्याङ्कले हामी चिन्तित छौँ । नियमितरुपमा कर विवरण तथा कर रकम दाखिला गराउन पहल भइरहेको छ ।”

प्रमुख कर अधिकृत बर्तौलाले आफ्नो क्षेत्रभित्र रहेका व्यवसायी तथा व्यावसायिक सङ्गठनका प्रतिनिधिसँग छलफल गरेर समस्याको पहिचान र त्यसको समाधानका लागि आफूहरु प्रयासरत रहेको जानकारी दिए । करदाता शिक्षामार्फत सचेतना अभिवृद्धि र कानुनअनुसार कारबाहीको प्रक्रिया सँगसँगै अगाडि बढाइरहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य सङ्घ धनुषाका अध्यक्ष जितेन्द्रकुमार महासेठले कर शिक्षाको अभावमा धेरै व्यवसायीले समस्या भोगिरहेको बताए । सरकारी कार्यालयले स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि करको प्रमाणपत्र जारी गर्दा नै कर शिक्षा दिएर सचेत गराउनुपर्ने महासेठको भनाइ छ ।

व्यवसाय दर्ता गर्ने तर कुनै कारणले कारोबारै नगर्ने, व्यवसाय बन्द नगरेरै विदेशिने वा अन्य काममा लाग्ने कारणले अहिलेको समस्या आइरहेको भन्दै महासेठले व्यावसायिक सङ्गठन र सरकार मिलेर यो समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल उद्योग परिसङ्घ धनुषाका अध्यक्ष विजय साहले करदातामैत्री वातावरण नभएकाले समस्या थप विकराल बन्दै गएको बताए ।

करदाताले प्रत्येक महिना आफूले बुझाउनुपर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको २५ दिनभित्र विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान छ । यसो नगर्दा तोकिएको राजस्व लक्ष्य पूरा गर्न पनि समस्या हुने र बक्यौता बढ्दै जाने धनुषाका प्रमुख कर अधिकृत बर्तौलाले बताए ।

जिल्लामा हाल ३४ हजार चारसय ६३ आयकरदाता छन् । त्यसमध्ये सात हजार चारसय ७७ मूल्य अभिवृद्धि कर र एक हजार चारसय ३५ अन्तःशुल्कमा दर्ता भएका आयकरदाता रहेका छन् । यहाँ व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ७१ हजार एकसय ९८ छ । आर्थिक वर्ष २०७७/७८ मा कर विवरण नबुझाउनेको सङ्ख्या १३ हजार पाँचसय २७ रहेकोमा २०७८/७९ मा त्यो सङ्ख्या बढेर २४ हजार चारसय तीन पुगेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा पनि मूल्य अभिवृद्धि करदातामध्येकै चार हजार नौ सय ९८ फर्म सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

तोकिएको समयभित्र कर दाखिला नगरेकै कारण हालसम्म कार्यालयले आयकरतर्फ रु २८ करोड ७८ लाख ७२ हजार सातसय ८९ र मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ५९ लाख ५९ हजार आठ सय ९६ गरी कूल ५७ करोड ३८ लाख ३२ हजार छसय ८५ बक्यौता उठाउन बाँकी छ । ब्याज, थप दस्तुर, विलम्ब शुल्कसमेत गरेर सो बराबर बक्यौता उठाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यस कार्यालयको कार्यक्षेत्रमा सिन्धुली, सर्लाही र महोत्तरी जिल्लासमेत छन् । रासस



प्रतिक्रिया दिनुहोस !