१७ बैशाख २०८१, सोमबार

महालेखाको सुझाव लत्याएर बसपार्क सञ्चालन गर्दै भीरकोट नगरपालिका

प्रकाशित मिति :  5 January, 2023 6:22 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ४ वर्षअघि निर्माण गरिएको बसपार्कलाई महालेखाको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन नगर्न भनेपनि नगरपालिकाले भने बसपार्क पुन संचालन ल्याउन पहल गर्दै आएको छ ।

भीरकोट बसपार्कको विषयमा आर्थिक वर्ष २०७८/७९ को महालेखापरीक्षकको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन गर्दा बढी खर्चिलो भएको औँल्याएको थियो । सार्वजनिक सुनवाई कार्यक्रममा जनताको प्रश्नको उत्तर दिदैँ नगरप्रमुख कर्मचार्यले जीप चालक र प्रहरीबीच मिलेमतो हुदाँ पहिला नै बसपार्क संचालनमा ल्याउन नसकेको र पुस ११ गते प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखसँग कुरा गरेर उक्त स्थानमा बसपार्क संचालनमा ल्याउने बताएका थिए ।

महालेखाको प्रतिवेदनमा सार्वजनिक निकायले सार्वजनिक श्रोतको उपयोग गर्दा मितव्ययी र अधिकतम प्रतिफल सुनिश्चित हुनेगरी खर्च गर्नुपर्नेमा नगरपालिकाले बसपार्क संचालनमा गर्ने प्रयोजनको लागि विभिन्र १२ जना व्यक्तिको जग्गा प्रतिरोपनी मासिक १७ हजार ४५ रुपैयाँका दरले वार्षिक २ लाख ६२ हजार ९२८ खर्च हुने जनाएको छ ।

निर्माणपछि अलपत्र रूपमा रहेको बसपार्क २०७९ असोज १५ गतेदेखि अनिर्वाय रूपमा पुन संचालनमा ल्याउने भनेर नगरपालिकाले सूचना निकालेपनि ट्राफिक प्रहरीले सहयोग नगर्दा उक्त स्थान बसपार्कको रूपमा संचालनमा आउन नसकेको नगरप्रमुख गोबिन्द कर्मचार्यले बताएका थिए ।

करिब १० लाख खर्चेर निर्माण गरेको बसपार्क नियामक निकाय नगरपालिकाको वेवास्ता र व्यवसायीहरूको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको उक्त जग्गाकाे कुनै उपयोग भएको छैन भने उल्टो पालिकाबाट वार्षिक लाखौँ रकम खर्च भएको छ ।

प्रतिवेदनमा नगरपालिकाले अध्ययन बिना नै बसपार्ककाे स्थान छनोट गरेको र नगरक्षेत्रमा उक्त जग्गा उपभोग नभएको बताएको छ । नगरपालिकाले यस प्रकारका कार्य गर्दा पूर्वसम्भाव्यता अध्ययन गरी सबैलाई पायक पर्ने स्थानमा बसपार्क बनाउने स्थानको छनौट नगरी भाडामा लिई खर्च लेखेको रकम बराबरको पालिकालाई थप व्ययभार परेको प्रतिवेदनले औँल्याएको छ ।

त्यस्तै पालिकाले प्रयोग विहिन रहेको जग्गाको सम्झौता रद्ध गरी यस्तो प्रकृतिका खर्चमा नियन्त्रण गर्न समेत महालेखाको प्रतिवेदनले सुझाव दिएको थियो तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल भने महालेखाको प्रतिवेदन बारे आफूलाई अवगत नभएको बताउँदै आएका छन् । उनले भने, “त्यो कहाँ लेखेको छ । मैले देखेको छैन । हामीले हेर्छौ के कारणले रोकेको रहेछ ।’’

बसपार्कको जग्गामा ब्याडमिन्टन काेर्ट, पालिकाकाे सहयाेग

नगरपालिकाले ४ वर्षको अवधिमा बसपार्क निर्माण र जग्गा भाडा बापत २० लाखभन्दा बढी रकम खर्च गरिसकेको छ तर अहिले भने उक्त जग्गामा ब्याडमिन्टन खेलका लागि प्रयोगमा ल्याइएको छ । प्रशासकीय अधिकृत पौडेलले पालिकाले थोरै मात्र जग्गा ब्याडमिन्टन खेल्नको लागि प्रयोग गरेको बताएका छन् । उनले भने, “जग्गा बसपार्कको लागि उपयोग नभएपछि हामीले त्यो ठाउँ ब्याडमिन्टन खेल्नको लागि दिएका हौं ।’’ नगरपालिकाले ब्याडमिन्टन मैदान बनाउनको लागि भुक्तानी समेत गरेको छ तर महालेखाको प्रतिवेदनलाई समेत अटेर गरेर नगरप्रमुखले उक्त जग्गा पुन बसपार्कको लागि प्रयोग गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !