२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त

प्रकाशित मिति :  13 January, 2023 5:19 pm


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश बदर गर्दै बिहीबार उच्च अदालतले सन्दीपलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको थियो ।

उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो । ‘मुद्दाको बाँकी प्रक्रिया अब उहाँ बाहिर बसेर पूरा गर्नुहुनेछ’, घिमिरेले भने ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ ।

थुनामुक्त भएपछि लामिछानेले आफ्ना समर्थकलाई आफू छिट्टै मैदानमा देखिने बताएका छन् ।

अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

लामिछाने किशोरी बलत्कारको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !