१५ बैशाख २०८१, शनिबार

लथालिङ्ग अर्थतन्त्रलाई हाम्रो जुझारु टिमले सम्हाल्छः उपाध्यक्ष श्रेष्ठ

प्रकाशित मिति :  26 March, 2023 8:51 am


धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष तथा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रलाई आफ्नो टिमले सम्हाल्ने बताएका छन् ।

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको धनगढीमा सम्पन्न छैटौँ प्रदेश सभालाई सम्बोधन गर्दै श्रेष्ठले व्यवसायीहरूको पीडा सम्बोधन गर्दै लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्ने गरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई सहकार्य गर्न अनुरोध गरे।

श्रेष्ठले ‘लथालिङ्ग अर्थतन्त्र’ अवधारणामा देशव्यापी अभियान चलाएर व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै आएका छन् । “मेरो नेतृत्वमा तपाईँहरूलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,” उनले भने।

श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए। “मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु। यसले मलाई उद्योगी व्यावसायीहरूको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरू समेत समावेशी युवाहरू छन् ।”

उनले आफूले महासंघमा लामोसमदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरू सिक्दै रहेको र अन्य साथीहरूलाई समेत सिकाउँदै आएको बताए। “अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यावसायीहरूको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” श्रेष्ठले भने।

करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या सम्बोधन गर्न विज्ञसहितको टिम बनाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !