मापदण्ड पुरा नगर्ने स्कुल बसका ९ जना चालक कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार बिहान गरिएको विशेष चेकिङका क्रममा ९ जना स्कुल बसका चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने ९ वटा स्कुल बसका चालकहरू कारबाहीमा परेका हुन्।
जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने ३ जना, बसको साइड लाइट ठीक नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५ जना चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन्।
काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको छ।
योसँगै बिहीबार बिहान भएको चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय २८ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।








