२७ माघ २०८२, मंगलबार

नयाँ दिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार

प्रकाशित मिति :  3 April, 2023 2:39 pm


काठमाडाैँ । भारतकाे राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेसनबाट ७ जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ ।

एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।

दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताए ।

उनले दिल्ली र अन्य राज्यहरुमा निरन्तर रुपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पु¥याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इन्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको बताए ।

पाठकले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरू धेरै दिल्ली पुग्ने गरेको बताए । बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताए ।



प्रतिक्रिया दिनुहोस !