स्कुटर चोरी गर्ने तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । चोरीको स्कुटर सहित भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ६ पाण्डुबजारबाट तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका वडा नम्बर ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा साेही ठाउँ बस्रे २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत पुष १७ गते काठमाडौँको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाइएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाईएको छ ।
उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १० घर भई हाल काठमाडौँको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाडौँको रातोपुलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको हो ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।








