२७ माघ २०८२, मंगलबार

समिट अपार्टमेन्ट बनाउने क्रममा घर भासिए, क्षतिपूर्ति  उपलब्ध गराउन सांसद कार्कीकाे माग

प्रकाशित मिति :  8 April, 2023 6:53 pm


काठमाडाैँ। ललितपुरको बखुण्डोलमा समिट अपार्टमेण्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेण्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन् । 

नक्शा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेण्ट बनाउन शुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरुले आफूहरुको वास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्। 

सो निर्माणाधिन अपार्टमेण्ट वरपरका एक तला जति घरहरु भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । 

अपार्टमेण्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनैपनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ ।  गैरकानूनी ढंगले अपार्टमेण्ट बनाउने र आफूहरुलाई घरवास बिहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेण्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् । शनिवार बिहान सो भासिएको घरहरुको निरीक्षण गरेपछि उहाँले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् । 

सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन्।

अपार्टमेण्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् । 

सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दवाव दिएपछि सो अपार्टमेण्टको निर्माण कार्य पनि रोकिएको छ । 



प्रतिक्रिया दिनुहोस !