भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरु हुँदै
काठमाडौँ । आजदेखि भक्तपुरमा बिस्केट (बिस्का) जात्रा आज सुरु हुँदै छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो ।
जिब्रो छेड्ने जात्राको रूपमा मनाइने यो जात्रा आज साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।
नयाँ वर्षको आगमनसँगै सुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा भक्तपुरमाआठ रात नौ दिनसम्म धुमधामकासाथ मनाइन्छ ।
बिस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धी, सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता पनि भन्ने गरिएको इतिहास छ ।
जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरू हुन्छ । प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याइएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधि अनुरूप पूजाअर्चना गरी पाँचतले मन्दिर प्रांगणबाट जात्रा सुरु गरिन्छ ।
रथको अगाडि र पछाडिबाट डोरी तानातान गरेर आ आफ्नो टोलमा लैजान खोजिन्छ । यसरी तान्दा रथ जुन टोलमा पुग्छ त्यही टोल विजयी भएको मानिन्छ । यो रथलाई स्थानीय गहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुन्छ ।
लिच्छविकालदेखि सुरु भएको बिस्केट (बिस्का) जात्रा नयाँ वर्षको चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते भैरवनाथको रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।








